
काठमाडौं : बुधबारबाट देशभर हुने कोरोना भाइरस विरुद्धको खोप अभियानका लागि आज देशभरका ६०० बढी स्वास्थ्यकर्मीलाई तालिम दिइँदै छ।
कोभिडविरुद्धको खोप र यसका लागि अपनाउनुपर्ने सवाधानी, खोप खेर जान नदिन के गर्ने? भन्नेबारे स्वास्थ्यकर्मीहरूलाई खोपसम्बन्धी तालिम दिन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
उपत्यकामा भने काठमाडौं भक्तपुर र ललितपुरका गरी २०० जना स्वास्थ्यकर्मीले भौतिक रुपमै उपस्थित भएर तालिम लिनेछन्। बाँकी ७४ जिल्लाका ४०० बढी स्वास्थ्यकर्मीहरूलाई भर्चुअल विधिबाट तालिम दिइने बताइएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित वेगन भिल्ला, ललितपुरको पाटन अस्पताल र भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा तालिम सञ्चालन भइरहेको छ। खोप तालिममा जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, खोप फोकल पर्सन, कोलचेन अधिकृतहरु र जिल्ला अस्पताल प्रमुख सहभागी छन्।
यस्तै, सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख, प्रदेशका कोलचेन अधिकृतहरु पनि त्यसमा सहभागी छन्। दुईपटक लगाउन’पर्ने यो खोप पहिलो डोज लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज लगाइनेछ।
खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ। उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहनचालक,महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन्।