
जनकपुरधाम : जाडोमा कष्टकर दैनिकी गुजार्दै आएका धनुषा जनकपुरधाम उप-महानगरपालिका- १४ मुजेलियाको मसहरी बस्तीमा माण्डवी संस्थाले न्यानो सिरक वितरण गरिएको हो । अत्यन्त विपन्न जनकपुरको मुजेलिया स्थित मुसहर बस्तीमा शुक्रवार माण्डवी जनकपुरले न्यानो सिरक वितरण गरिएको हो ।
माण्डवीका कार्यकारी निर्देशक अञ्जु झाले ५० मुसहर परिवारलाई जाडोबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एक/एक थान सिरक वितरण गरिएको बताइन् । जाडोे बढेपछि मुसहर परिवारले पराल ओछ्याएर रात कटाउने गरेका थिए ।
आगो ताप्ने दाउरा र न्यानो कपडा नहुँदा आफूहरुले जाडोयाममा निकै कष्ट भोगिरहेका बेला न्यानो कपडा पाएपछि निकै राहत पुग्ने स्थानीय भदैया सदाले बताए । ‘जाडो छल्न निक्कै मुस्किल थियो, म त परालको गोहिया बनाएर परालमै सुत्ने र परालको चटैया ओढ्ने गरेको थिए, अब आजदेखि सिरक दिएपछि केही राहत हुन्छ’ उनले भने ।
जसोतसो कठयाग्रीएर परालको भरमा जीवन बिताईरहेका लागि सिरक पाएर मरनी देवी सदा दङ्ग-फुरुङ्ग नै भईन । यसरी कसैले पहिलो पटक सिरक ओढ्न दिएकोमा खुशी व्यक्त गर्दै भनिन, ‘यसलाई जतन गरी ४-५ वर्ष टिकाउँछु ।’ उनीमात्रै होइनन् स्थानीय राजेन्द्र सदा, पवनीदेवी सदा, शिवो सदा देवीले हुनेखानेले सिरक ओढेको देखेपनि आफ्नो जिउमा कहिलै सिरक नपरेको सुनाईन ।
उनीहरुले माण्डवी समाजसँग शीतलहरको बेला पाएको सिरक सबैभन्दा ठूलो उपहारझैं भएको बताए । तर उनीहरुले आफूजस्ता विपन्नका नाममा राजनीतिक दलहरुले राजनीति गरे पनि अहिलेसम्म केही नगरेको बताए । निर्वाचनका बेला ठूलठूला सपना मात्रै बाँड्ने राजनीतिक दलका नेताहरुले आफूहरुको दुःख र पीडामा केही नदिएको पुलकित सदाको गुनासो छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल वास्तोलाले हुनेखानेका लागि सिरका ठुलो कुरा नभएपनि विपन्न नागरिकको झुपडी सदैव पीडामा डुब्दै आइरहेको समयमा विपन्न बस्तीका नागरिकलाई कठयाग्रदो शितलहर र जाडोबाट बच्न राहत स्वरुप सिरक दिएर प्रशंसनीय काम गरेको बताए । कार्यक्रममा धनुषाका प्रहरी प्रमुख प्रहरी प्रकाश रानाभाट, सशस्त्र प्रहरीका प्रमुख नरेश सेन सहितका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
जनकपुरधाम उप-महानगरका १४ का वडा अध्यक्ष पुण्यप्रताप यादवको अध्यक्षतामा भएको कार्यक्रममा माण्डवीका ऋषिराज अधिकारी, फिल्ड अफिसर धर्मेन्द्र शर्मा, राजेश कुमार मिश्र सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।