जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा संघियता आएपनि विभेद कायमै रहेको बताएका छन् । उनले देशमा विभेद अन्त्य गर्नकै लागि संघिय संरचना राजनीतिक सहमतिको आधारमा ल्याइएपनि त्यसको अनुभूति हुन नसकेको बताए ।

राष्ट्रिय इन्जिनियर संघको भेलालाई प्रमुख अतिथिको आसनबाट बोल्दैै ठाकुरले देशमा कायम रहेको पहिचानको आधारमा विभेद, जातियताको आधारमा विभेद, लिंगको आधारमा विभेद यी विभेदहरुकै अन्त्यतका लागि संघिय व्यवस्था देशमा ल्याएको बताए । उनले भने ‘विभेद अन्त्यका लागि नेपाली जनताले आन्दोलन गरेर संघिय संरचना प्राप्त गरे तर शासन व्यवस्था विभेद गर्नेहरुकै हातमा रहेकाले त्यसको प्रतिफल प्राप्त गर्न सकेनन् ।’ अगाडी भने ‘त्यसैले हामीहरु अहिले पनि संविधानको बिरोध गरिरहेका छौँ ।’

मधेश आन्दोलनपछि मधेशवादी दलहरुसंग गरिएका सम्झौताहरु अझै पूरा हुन नसकेको स्मरण गराउँदै ठाकुरले भने ‘मधेशवादी दलहरुले एक मधेश एक प्रदेश मागेका थिए, त्यो माग पूरा भयो, भएन नि ?, यो पनि विभेद नै हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली आफू माथी परेको संकटकै कारण संसद विघटन गरेको दावी गरे । सत्ताधारीहरुमाथी संकट पर्दा कि त राष्ट्रवादको नारा दिनन्छन वा संविधान माथी नै धावा बोल्छन् भन्दै ठाकुरले प्रधानमन्त्री ओलीले आफू माथी परेको संकटका कारण संविधानमाथी नै धावा बोलेको आरोप लगाए । उनले भने ‘प्रधानमन्त्री ओली अहिले ठूलो राष्ट्रवादी भएका छन्, संसद पुनःस्थापनाको माग गर्नेहरुलाई उनी ठूलो राष्ट्रद्रोही ठान्छन् ।’

राष्ट्रिय ईन्जिनियर संघको भेलालाई सम्बोधन गर्दै जसपाका बरिष्ठ राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेकाले देशमा पटक पटक समस्याको श्रृजना हुने गरेको बताए ।

महतोले ७० वर्षमा जनताको मागलाई सम्बोधन गर्नका लागि ७/७ वटा संविधान आयो तर जनताका लागि संविधान अझै आउन सकेन । उनले देशमा जति संविधान र व्यवस्था परिवर्तन भएपनि विचार र व्यवहारमा परिवर्तन नभएसम्म यहाँका जनता सुखी हुन नसक्ने दावी गरे । उनले भने ‘मुलुकमा ७ पटक संविधान ल्याइयो, त्यसमाथी बारम्बार प्रतिगमन भयो, किनभने त्यो संविधानले जनताको मागलाई सम्बोधन गर्न सकेन ।’

फास्ट ट्र्याकमा ल्याइएको संविधानको परिणामा अहिले सबै नेपाली जनतालाई भोग्नु परिरहेको महतोको भनाई थियो । उनले भने ‘औपनिवेशिक चिन्तनबाट ग्रस्त व्यक्तिहरुले फास्ट ट्र्याकमा संविधान जारी गरेपछि त्यसको पीडा त सबैले भोग्नै पर्छ । ’

कार्यक्रममा जसपाका नेताहरु शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायतको बोलेका थिए ।

२०७७ माघ १८, आईतवार ११:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय