
काठमाडौं : सरकारले आगामी १७ र २७ वैशाखका लागि घोषण गरेको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ ।
मङ्गलबार बसेको बैठकले अर्थ मन्त्रालयसँग प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको हो । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मात्रै ७ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको थियो ।
सोहीबमोजिम मन्त्रालयलाई पत्राचार गरेर आयोगले दुई चरणको निर्वाचन सम्पन्न गर्नका लागि खर्च माग गरेको हो । यसअघि आयोगले अनौपचारिक रुपमा आठ अर्ब माग गरेको थियो ।
आयोगले सकेसम्म कम खर्चमा मितव्ययी तरिकाबाट निर्वाचन सम्पन्न गर्ने गरी खर्च माग गरेको प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन् । यो निर्वाचनमा मतपेटिकालगायत धेरै सामग्री पहिलेकै निर्वाचनको प्रयोग गर्ने, सवारीसाधन पनि मर्मत गरेरै चलाउने उनले बताए ।
कोभिड १९ को महामारीका कारण आयोगले गर्ने तालिमलगायतका गतिविधि पनि अनलाइन प्रणालीमार्फत नै गर्ने जानकारी दिँदै उनले समग्रमा मितव्ययी ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने बताए ।
आयोगले कोभिड १९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ माग गरेको छ ।