वीरगञ्ज : पर्सामा शसस्त्र प्रहरी र तस्करहरु बीच झडप हुँदा पाँच जना प्रहरी जवान घाइते भएका छन् । जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट ट्रयाक्टरमा अवैध तरिकाले बालुवा लग्न खोजिरहेका भारतीयहरुलाई रोक्न खोज्दा झडप भएपछि पाँच जना शसस्त्र प्रहरीका जवान घाइते भएका हुन् ।

भारतीयहरुको प्रहारबाट घाइते भएकामध्ये दुईजना प्रहरीलाई गम्भीर रुपले चोटपटक लागेको छ भने अन्य सामान्य घाइते छन् । उनीहरुको अहिले वीरगञ्जस्थति नारायणी अस्पतालमा उपचार चलिरहेको शसस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए ।बालुवा लग्न खोजिरहेका भारतीयहरुलाई बोर्डर आउट पोष्ट पिडारी गुठीका शसस्त्र प्रहरीका इन्स्पेक्टर बसन्त जिसीको टोलीले शुक्रबार बिहान रोक्न खोजेपछि झडप भएको थियो । ५०-६० जना भारतीयहरुको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको घाइते प्रहरी जवान महेश प्रसाद यादवले बताए ।

‘भारतीयहरुले ट्रयाक्टर ल्याएर बालुवा लागिरहेको सूचना प्राप्त गरेपछि हामी इन्स्पेक्टर बसन्त जिसीको कमाण्डमा त्यहाँ पुग्यौँ,’ यादवले भने, ‘बालुवा लिएर गइरहेका ट्रयाक्टरहरुलाई रोक्न खोज्दा ५०-६० जनाको समूहले हामीमाथि घरेलु हतियार र औजारबाट आक्रमण गर्‍यो । हामी २२ जना प्रहरीको टोलीमाथि पूरै गाउँ भिडेपछि स्थित तनावग्रस्त भएको थियो ।’यादवको खुट्टा र हातमा चोट लागेको छ । उनको देब्रे हात भाँचिएको छ । त्यसैगरी अर्का प्रहरी जवान आइस राज यादवको कानमा बेल्चाको प्रहारबाट गम्भीर रुपले चोट लागेको छ । उनको कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले बताए ।

प्रहरी अनुसार भारतीयहरुले ५-७ वटा ट्रयाक्टरमा लोड गरेर बालुवा लागिरहेका थिए । यता, शसस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बालुवा लग्न खोजिरहेका भारतीयहरुलाई रोक्न खोजेपछि सामान्य झडप भएको बताए । उनले घटना सामान्य भएको बताउँदै भने, ‘बलुवा लागिरहेका भारतीयहरुलाई प्रहरीले रोक्न खोजेपछि सामान्य झडप भएको थियो । केही प्रहरी जवान घाइते भएको सूचना आएको छ । त्यस्तो ठूलै झडप भने भएको होइन ।’

प्रहरी उपरीक्षक खड्काले घटना लुकाउँन खोजिरहेका छन् । गम्भीर रुपले प्रहरी जवान घाइते भएपनि उनले घटनालाई सामान्य भन्नु शंकास्पद छ ।’ ओरिया खोलाबाट भारतीयहरुले दैनिक हजारौं ट्रयाक्टरबाट लाखौँ बराबरको बालुवा लग्न गरेका छन् । खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुको आरोप छ ।

विगत २० वर्षदेखि उक्त खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए ।

२०७७ माघ ३०, शुक्रबार १४:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय