
सिरहा : दलितभित्रको आन्तरिक विभेदको अन्त्य गरी दलित समुदायलाई सङ्गठित गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि देशव्यापी बृहत् राष्ट्रिय दलितमुक्ति जागरण अभियान शुरुआत हुने भएको छ ।
सामाजिक न्याय, मुक्ति र विभेदविरुद्ध पूर्वको राजविराजस्थित रङ्गशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ सो अभियान शुरु हुने अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले जानकारी दिनुभयो । “पटक पटक आन्दोलन भए, आन्दोलनमा दलितसहित उत्पीडित समुदायले बलिदानी दिइरहे तर, दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने अझै फेरिएको छैन”, उहाँले भन्नुभयो, “दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकै हो, रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटना अझै भइरहेको छ ।”
यी र यस्ता घटनालाई मध्यनजर गर्दै न्याय, मुक्ति र विभेदविरुद्ध सडकमा देशभरिकै दलित समुदाय एकीकृतरुपमा उत्रिनुपर्ने बाध्यता आइलागेको उहाँको कथन थियो । अभियानका क्रममा दलित समुदायभित्र रहेका विभेदको विषयमा छलफल, बहस गरिने, अहिलेसम्म दलित समुदायको अवस्थामा सुधार नआउनुको पछाडिको कारणबारे देशव्यापी बहस चलाइने जनाइएको छ ।
‘संयुक्त दलित सङ्घर्षको राष्ट्रिय दलितमुक्ति जागरण अभियानले देशव्यापीरुपमा जागरण अभियान तथा विरोधका कार्यक्रम गर्ने जनाएको छ । FIle Photo