
काठमाण्डाै : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ ।
हत्या भएको १७ औं दिनमा उनको दाहसंस्कार गर्न लागिएको हो । भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ मानेको थिएन । प्रहरीले १३ औं दिनमा भागरथीको हत्याको आरोपमा त्यहीँ ठाउँका दीपक भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
दीपकले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । तर हिजो दीपकले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझ्न लागेको हो । भागरथीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरामा रहेको महाकाली नदीको छेउको आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ । गएको माघ २१ गते विद्यालयबाट घर जाने क्रममा भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।