जनकपुरधाम : प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) आज पदभार ग्रहण गर्न लागेका छन् ।

आज बेलुकी ४ बजे जनकपुरधाम आएपछि उनले पदभार ग्रहण गर्ने बताइएको छ । यद्यपी प्रदेश प्रमुखलाई भने मुख्यमन्त्रीले स्वागत नगर्ने भएका छन् । मुख्यमन्त्री लालबाबु राउत उनलाई स्वागत गर्न नपुग्ने बताइएको छ ।

प्रदेश २ सरकार प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तीप्रति असन्तुष्टि जनाउँदै आएको छ । सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले निवर्तमान प्रदेश प्रमुख तिलक परियारको कार्यशैली संतोषजनक रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संघियतालाई कमजोर बनाउन आफ्नो नजिकका मान्छेलाई प्रदेश प्रमुख बनाएको आरोप लगाए ।

संघियताविरोधी छवि बनाएका झालाई प्रदेश प्रमुख बनाएर प्रधानमन्त्री ओलीले द्वन्द्व निम्त्याउने षडयन्त्र गरेको मन्त्री यादवले बताए ।

मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

२०७७ फाल्गुन ९, आईतवार १३:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय