
काठमाडौं : पशुपतिनाथको मुख्य शिवलिंगमा सुनको जलहरी राख्ने विषय विवादमा पर्दै आएको थियो।
विवादबीच मंगलबार राति जलहरी राखिएको दाबी पशुपति क्षेत्र विकास कोषले गर्यो। कोषले अर्को दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट क्षमापूजा गर्दै जलहरीको अनावरण गर्यो।
बुधबार नै सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा पहिलो सुनुवाइ तोकिएको थियो। उता राष्ट्रपति भण्डारीले जलहरी स्थापना गरेको खबर कोषका सदस्यसचिव डा.प्रदीप ढकालले सार्वजनिक गरेका थिए।
उक्त घोषणा भएको केहीबेरमै सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल जलहरीको काम अघि नबढाउनू भन्ने आदेश दियो।
सर्वोच्चमा मुद्दा दिएकामध्ये एकजना बागमती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले राष्ट्रपतिले उद्घाटन गरे पनि जलहरी स्थापना भइनसकेकाले सुनको जलहरी राख्ने काम अदालतको आदेशबमोजिम रोक्नुपर्ने बताएका थिए।
राष्ट्रपतिले उद्घाटन गरे पनि जलहरी नराखिएको आशयका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए।
तर कोषका सदस्यसचिव ढकालले बिहीबार पत्रकारहरुलाई जलहरी देखाउँदै मंगलबार साँझ नै राखिसकिएको बताए।
‘हामीले मंगलबार साँझ नै जलहरी राखेर बुधबार राष्ट्रपतिबाट अनावरण गराएका हौं,’ पत्रकारहरुलाई जलहरी देखाउँदै ढकालले भने, ‘जलहरी नै नराखिएको भन्ने समाचार झूटो हो। भगवानका अगाडि बसेर म झूट बोल्छु होला त?’
ढकालले भनेबमोजिम बिहीबार दिउँसो पशुपतिको मुख्य शिवलिंगको तलपट्टी सुनको जलहरी राखिसकिएको छ। दिउँसो पुजारीहरु जलहरीमाथि रहेको शिवलिंगको पूजाआजामा व्यस्त थिए।
यद्यपी जलहरी पूूर्णरुपमा निर्माण भइसकेको छैन। जलहरीमुनि रहेको नागलगायतलाई अन्तिम रुप दिने काम बाँकी छ। सर्वोच्च अदालतमा मुद्दा परेकै कारण हतारहतारमा जलहरीको काम नगरिएको दाबी सदस्यसचिव ढकालले गरे।
‘हामीले बाहिरभन्दा शिवरात्रीसम्म राखिन्छ भन्दै आएका थियौं तर मूल भट्टलगायत पुजारीले १२ गतेको साइत निकाल्नुभएको थियो,’ ढकालले भने, ‘सोही साइतबमोजिम हामीले तयारी गरेका थियौं र बुधबार स्थापना गरेका हौं।’
रिट निवेदक मध्येका एक बैद्यले पनि बुधबार साँझ आफूहरु पशुपतिमा पुग्दा हतारहतार ९० प्रतिशत काम सकिएको देखिएको बताए। उनले सर्वोच्चको आदेशका कारण अन्य काम गर्न नमिल्ने बताए।
सदस्यसचिव ढकालले भने जलहरी क्षेत्रमा मुल पुजारीले मात्रै प्रवेश पाउने भएकाले अन्तिम रुप दिने (फिनिसिङ) काम विस्तारै बताए। उनका अनुसार १ सय ८ किलो सुनबाट बनाइने जलहरीमा अहिले ९६ किलो सुन प्रयोग भएको छ। बाँकी सुन फिनिसिङमा प्रयोग हुनेछ।
शिवलिंगको पानी झर्ने ठाउँलाई जलहरी भनिन्छ। यसअघि उक्त जलहरी चाँदीको थियो। यसपटक ८० करोड रुपैयाँको लागतमा सुनको जलहरी राखिएको हो।
माघ दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्दै सरकारले तत्काल ३० करोड दिने प्रतिबद्धता जनाएसँगै कोषले सुनको जलहरी राख्ने काम अघि बढाएको हो। उक्त रकममा कोषले ५० करोड थप्दै नेपाल राष्ट्र बैंकमार्फत् १०८ किलो सुन खरिद गरेको हो।
चाँदीको जलहरी राख्ने गरेको स्थानमा सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरित हुने भन्दै वैद्यसँगै नितिका ढुंगानाले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
उक्त ऐनको दफा १२ को खण्ड ग मा कुनै पुरातात्विक वस्तु नष्ट गरे, भत्काए, विरूप पारे, चोरी गरे, अनधिकृत रूपमा हटाए वा परिवर्तन गरेमा त्यस्तो पुरातात्विक वस्तुको विगोबमोजिम रकम असुल गरी ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
अदालतले बुधबार रिटउपर छलफल गर्दै यही फागुन १७ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। सर्वोच्चले त्यतिबेलासम्म जलहरीको बाँकी काम अघि नबढाउन आदेश दिएको छ। नेपालखबरबाट