जनकपुरधाम : धनुषाको औरही गाउँपालिकामा ज्येष्ठ नागरिकहरुले तालाबन्दी गरेका छन् । गत ८ महिनादेखि आफूहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको भन्दै ज्येष्ठ नागरिकहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय राजेन्द्र मेहताले भने,‘आफूहरूले साउन महिनादेखि हालसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनौं । त्यसैले आज हामीहरुले बाध्य भएर गाउँपालिकाको कार्यालयमा ताला लगाएका छौं ।’ उनले आफूहरु भत्ता लिन पटक–पटक गाउँपालिका धाउँदा पनि अध्यक्ष ब्रह्मदेव यादव तथा कर्मचारीहरुले खाता सञ्चालनमा समस्या रहेको भन्दै आफूहरुलाई खाली हात फिर्ता पठाउने गरेको गुनासो सुनाए ।

अर्का ज्येष्ठ नागरिक जयकृष्ण साहले भने, ‘यस गाउँपालिकाका करिब डेढ सय ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा बक्यौता रहेको छ । तर, गाउँपालिका अध्यक्षले अहिलेसम्म कुनै चासो देखाएका छैनन् । त्यसैले आज हामीहरू बाध्यताबस ताला लगायौँ ।’
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवले कर्मचारी अभावका कारण ज्येष्ठ नागरिकको भत्ता मात्र नभई दसैँ यता सम्पूर्ण आर्थिक कारोबार ठप्प रहेको बताए ।

उनले भने, ‘गत भदौ महिनादेखि नै गाउँपालिकामा प्रशासकीय अधिकृत नरहेकाले बैंक खाता समेत खोल्न सकिएको छैन । अहिलेसम्म पनि गाउँपालिकाको कार्यालय अधिकृतविहीन रहेको छ ।’
अध्यक्ष यादवले अधिकृत पठाउन माग गर्दै एकसातादेखि मन्त्रालय धाइरहे पनि कुनै सुनुवाइ नभएको बताए । फरकधारबाट

२०७७ फाल्गुन २३, आईतवार २०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय