काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथामका लागि तत्काल लकडाउन गर्ने योजना नभएको जनाएको छ ।

भारतमा संक्रमण दर पुनः बढेसँगै नेपालमा जोखिम न्यूनीकरणका उपाय अपनाइने तर तत्काल लकडाउन गर्ने योजना भने नभएको सीसीएमसीका सदस्य सागर दाहालले बताए ।

भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमणको जोखिम थपिएको छ । भारतसँग सीमा जोडिएको प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा भारतबाट आएका चारजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।

भारतबाट आउजाउ गर्ने नागरिकलाई आवश्यक स्वास्थ्य जाँच र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा सीमानाकाका हेल्थ डेस्कहरुलाई निर्देशन दिएको छ । साथै, मुलुकभरका अस्पतालहरुलाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने पनि मन्त्रालयले जनाएको छ ।

लकडाउन सहज छैन, विकल्प खोज्छौँ

नेपालमा कोभिड–१९ संक्रमण देखिएको दुई महिनापछि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर, भारतबाट खुला सीमा हुँदै नेपाल आवतजावत गर्न मिल्ने धेरै बाटोहरु भएकाले संक्रमण दर तराईका जिल्लाहरुमा धेरै फैलियो । अहिले भारतमा संक्रमण दर बढेकै आधारमा लकडाउन गर्ने विषयमा छलफल नभएको सदस्य दाहाल बताउँछन् ।

उनले भने, “लकडाउन सहज छैन, त्यसले पार्ने असरहरु हामीले विगतमा भोगिसकेका छौँ । लकडाउनको विकल्प खोज्नतिर सरकार लागेको छ । त्यसका लागि छलफल र बैठकलाई तीव्रता दिइएको छ । तत्काल लकडाउन गर्ने विषयमा कुनै छलफल भएको छैन । लकडाउन गर्ने अवस्था पनि छैन ।”

सीमानाकामा के गरिँदैछ ?

भारतमा कोभिड–१९ को संक्रमण दर बढेसँग सीमानाकाहरुमा रहेका हेल्थ डेस्कहरुलाई सक्रिय हुन मन्त्रालयले निर्देशन दिइसकेको छ । नेपालमा फैलिन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राख्दै कन्ट्याक ट्रेसिङ बढाउन थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए । “अहिलेलाई हेल्थ डेस्कहरुलाई सक्रिय गराउने र आएका सूचनाहरुलाई नजिकबाट नियाल्ने कामलाई प्राथमिकता दिएका छौँ । अवस्था हेरेर अगाडि के गर्ने भन्ने निार्णय लिँदै जानेछौँ,” डा. पौडेलले भने ।

२०७७ चैत्र ९, सोमबार १५:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय