
काठमाडौं : जनता समाजवादी पार्टीका मागहरु सम्बोधन गरेर नेकपा एमालेको सरकार जोगाउने गरि गृहकार्य अघि बढिरहेको छ । जसपाका बहुमत नेताहरुले केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने भएका छन् साथै प्रधानमन्त्री ओलीले पनि जसपाका मागहरु सम्बोधन गर्न सकारात्मक कुरा गरेका छन् ।
रेशम चौधरीको रिहालाई मुख्य माग बनाएको जसपाले मंगलवार प्रधानमन्त्रीसंगको भेटवार्तामा आफूहरुलाई १० मुख्य मन्त्रालय माग गरेका छन् । प्रधानमन्त्रीले ८ वटा सम्म मन्त्रालय दिने तय गरेका थिए तर जसपाले १० वटा मन्त्रालयको माग राखेर बालुवाटारबाट बाहिरिएका छन् ।
जसपामा दुई शिर्ष नेताहरु उपेन्द्र यादव र डा बाबुराम भट्टराई सरकारलाई समर्थन नदिने दबाब दिइरहेको बेला जसपाका बहुमत नेताहरुले सरकारलाई समर्थन दिने भित्री निर्णय गरेका छन् । प्रधानमन्त्रीसंग आफ्नो मागहरु र मागेका मन्त्रालयहरु पाउने पक्का भएपछी पार्टीगत निर्णय गर्ने तयारीका साथ राजेन्द्र महतो र महन्थ ठाकूर अघि बढेका छन् ।
रेशम चौधरीको रिहा बारे सरकार सकारात्मक रहे पनि कहिले र कसरी रिहा गर्ने भन्ने बारे टुंगो लागिसकेको छैन । जसपाले भने माग पूरा गरेपछि मात्र समर्थन गर्ने उधारो सम्झौतामा अघि नबढ्ने दबाब प्रधानमन्त्री ओली सामू राखिरहेको छ ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको बेला प्रधानमन्त्री ओलीले जसपालाई आफ्नो तर्फ राखेर तयारी अवस्थामा बस्न गृहकार्य भईरहेको छ । प्रचण्डले केपी ओलीलाई समर्थन फिर्ता लिन नेपाल भित्र देखि बाहिरि शक्तिको बलियो समर्थन खोजिरहेको अवस्था छ ।