जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबाबाट अपहरणमा परेका एक दम्पतीको शव गाडेको अवस्थामा फेला परेको छ । फागुन ११ गते राति पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया श्रीमती गीतादेवी झालाई बेपत्ता बनाइएको थियो ।

उनीहरूको शव पिपरा गाउँपालिकाको–२ स्थित अतरा जानेबाटोमा बिहीबार दुवै जनाको शव फेला परेको हो । पिपरा बजारबाट अतरा जाने सडकखण्डमा बाढीले बगाएको सडकमा बनाइएको डाइभर्सनमा गाडिएको अवस्थामा शव भेटिएको प्रदेश प्रहरी कार्यालयबाट घटना अनुसन्धानका लागि खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । ‘मुसाफिरको शव बोरामा राखेर र गीताको शव त्यत्तिकै गाडिएको थियो,’ प्रहरी नायब उपरीक्षक महतोले भने, ‘शव चाँडै गलाउन भनेर शवसँगै नुन पनि राखिएको थियो ।’ निर्माणाधीन सडकमा १० दिनभित्रै शव गाडिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।

सडक निर्माणअन्तर्गत दोस्रो चरणमा माटो बिछ्याउने क्रममा माटोले पुरिएको अवस्थामा दुवै जनाको शव एकै ठाउँमा गाडेको अवस्थामा भेटिएको हो । झा दम्पती अपहरण गरेको आरोपमा छिमेकसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ । अपहरणकारीले सुतेको ओछ्यानसहित झा दम्पतीलाई बनाएका बेपत्ता बनाएका थिए । ‘मृतक मुसाफिरले लगाएको टिसर्ट, गीताले लगाएको कपडा, हातको चुराको आधारमा शवको पहिचान खुलेको छ,’ उनले भने । खाल्डो खनेर निकालिएको शवको पहिचान परिवारजनले गरेका छन् ।

वृद्ध दम्पतीलाई अपहरण गरेर बेपत्ता बनाएको अभियोगमा प्रहरीले केही दिनअघि चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । अपहरण गरी बेपत्ता बनाएको किटानी जाहेरीका आधारमा झा दम्पतीका छिमेकी तीन जना अर्का एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गा कारोबारीले दम्पतीमध्ये राति ओछ्यानबाट बेपत्ता बनाएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । स्थानीय रामबाबु यादव, उनका जेठा र कान्छा छोरा सुरेन्द्र र राजेन्द्रसहित भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरूविरुद्ध बेपत्ता, अपहरण तथा शरीर बन्धक शीर्षकमा उजुरी दर्ता गरेर अनुसन्धान बढाइएको छ । ‘जग्गाको विषयलाई लिएर झा दम्पतीलाई बेपत्ता बनाइएको खुलेको छ,’ आचार्यले भने, ‘अभियुक्त रामबाबुको घरमा देखिएको रगतको छिटा र गीतादेवी सुतेको ठाउँमा फेला परेको रगत एउटै प्रकृतिको पुष्टि भएको छ ।’ गीतादेवी सुतेको कोठामा देखिएको रगतको छिटा धोइपखाली गरिएकाले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले झा दम्पतीले प्रयोग गर्ने सिमसहितको मोबाइल र एक जोर चप्पल फेला पारेको छ । झा दम्पती सुतेको ओछ्यान, झुल, सिरानी, डस्ना र सिरक बेपत्ता पारिएको छ । झा दम्पतीको खोजीका लागि ५४ वटा पोखरीमा ठूलो जाल प्रयोग गर्दै डुंगाबाट पनि शंकास्पद ठाउँमा खोजी गरिएको थियो । जग्गाको विषयलाई लिएर दम्पतीलाई बेपत्ता बनाइएको प्रहरीको ठहर छ । भारतीय नागरिक हरेन्द्रले सोहोडवामा सस्तोमा किनेर महँगो दाममा बिक्री गर्न १३ बिघा जग्गा प्लटिङ गरेका थिए । प्लटिङ गरिएको मध्ये उत्तरतर्फको १४ कठ्ठा जग्गा झा दम्पतीको रहेछ । झाको भन्दा अझै उत्तरतिर व्यवसायी हरेन्द्रको दुई बिघा जग्गा छ । हरेन्द्रको जग्गाको बीचमा पर्ने १४ कठ्ठा जग्गा खरिद गरेर उनले बीचबाट बाटो निकालेर महँगोमा जग्गा बिक्री चाहन्थे । तर, झाले उनलाई आफ्नो जग्गा बिक्री गर्न चाहेका थिएनन् ।

‘जग्गाको विषयलाई लिएर झा दम्पतीलाई हत्या गरिएको खुलेको छ,’ प्रहरी उपरीक्षक आचार्यले भने, ‘अभियुक्त रामबाबुको घरमा देखिएको रगतको छिटा र गीता देवी सुतेको ठाउँमा फेला गरेको रगत मानवको र एउटै प्रकृतिको पुष्टि भएको छ ।’ झा दम्पतीको खोजी गर्न मैथिल ब्राह्मण महासभालगायत तीन दर्जन संस्थाले धनुषा, महोत्तरी, पर्सा, मोरङ, काठमाडांैसहितको जिल्लामा आन्दोलन गर्दै आएको थियो । सो घटनालाई लिएर नेपाल सरकार सीआईबी पनि परिचालन गरेको थियो ।

२०७७ चैत्र १२, बिहीबार १९:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय