
काठमाडौं : केहि मिडियाले गलत समाचार सम्प्रेशन गरी काठमाडौंको तीनकुनेस्थित इन्टरनेसनल स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (ISMT) कलेजलाई समस्यामा पार्ने प्रयास गरिएको छ ।
कलेजले विज्ञप्ती नै जारी गरी केही मिडियामा मिथ्या र भ्रमपूर्ण समाचार आएको भन्दै आपत्ति जनाएको हो । अध्यापन गराइएका कार्यक्रमहरू शिक्षा मन्त्रालयबाट मान्यताप्राप्त रहेको कलेजको दावी छ । केहि अनलाइन पोर्टलले बुझ्दै नुबझी भ्रमपूर्ण समाचार प्रकाशित गरेको कलेजको भनाइ छ ।
‘आफ्ना केही कार्यक्रमबारे तथ्यहीन र निराधार प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको छ’, कलेजद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस कलेजमा अध्यापन गराइएको कार्यक्रम BTEC HND Leading to Bachelor नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यताप्राप्त भएको र हाम्रो कलेज विद्यार्थी अभिभावक र आम जनसमुदायप्रति पूर्णतः उत्तरदायी रहेको जानकारीसमेत गराउन चाहन्छौं ।’
कलेजले व्यापार गर्दैछ भनी कुप्रचार गरिएकाले विज्ञप्ति जारी गर्न बाध्य भएको कलेजका एक उच्चपदस्थ कर्मचारीले बताए । ‘कुनै मिडियाले हाम्राबारे सिरिजमा समाचार लेखिरहेको छ’, ती कर्मचारीले प्रश्न गरे, ‘तर, त्यसमा हाम्रो प्रतिक्रिया राख्नुपर्छ कि पर्दैन ? हामीमाथि प्रश्न उठाएपछि हाम्रो जवाफ खोज्ने कि एकतर्फी लेख्ने ?’
कलेजमाथि लगाइएका आरोप प्रमाणित गरेर देखाउन चुनौती पनि ति कर्मचारीले दिए । भ्रामक समाचारमाथि विश्वास नगर्न अभिभावक र विद्यार्थीलाई आग्रह पनि कलेजले गरेको छ । कलेजले सौहार्दपूर्ण वातावरणमा जिम्मेवार भूमिका निर्वाह गरिरहेको भन्दै उनले कलेजप्रति ढुक्क रहन अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी साथीहरूलाई आग्रह गरेका छन् ।
आइएसएमटी कलेज नेपालमा विदेशी डिग्रीका लागि विद्यार्थीहरूलाई अध्ययन गराउने उद्देश्यसहित १० वर्षअगाडि खुलेको थियो । विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको संख्या बढ्दै जाँदा आइएसएमटीले विद्यार्थीलाई आफ्नै देशमा विदेशी डिग्रीका लागि तयार गर्न थालेको हो ।
‘अहिले विश्वभर क्रेडिट आउरअनुसार पढाइ हुन थालिसकेको छ’, आइएसएमटीका प्रमुख प्रशासकीय अधिकृत वासु वस्तीले भने, ‘विदेशी डिग्रीको भविष्य विश्वभर छ, यसले राम्रो जनशक्ति उत्पादन गर्न सहयोग गर्छ । त्यसका लागि नेपालमा भएका राम्रा कलेजमध्ये एक हो, आइएसएमटी ।’
आइएसएमटीले ब्रिटिस क्वालिफिकेसन अध्यापन गराउने भएकाले विद्यार्थीले नेपालमै होस् या अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका देशका चर्चित विश्वविद्यालय तथा कलेजहरूमा ब्याचलर कोर्सलाई पूरा गर्ने अवसर पाउँछन् । यसले गर्दा नेपालमा आफ्नै परिवारको काखमा बसेर विश्वप्रसिद्ध कोर्स गर्न पाउने भएकाले आइएसएमटीको आफ्नै महत्त्व भएको वस्तीको भनाइ छ ।
आफूहरूले अहिलेसम्म दस हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र उनीहरूले अहिले विभिन्न देश तथा नेपालमा विभिन्न उच्च तहमा रहेर काम गरिरहेको पनि उनले बताए । ‘अहिले पनि हाम्रो कलेजको सम्पर्कमा केही विद्यार्थी छन्’, उनले भने, ‘उनीहरूको सफलताले आज हामीले भोलिको नेपालका लागि विद्यार्थी उत्पादन गरिरहेका छौँ भन्नेमा गर्व हुन्छ ।’
१० वर्ष लामो अनुभवका कारण पनि आफूहरू विद्यार्थीको भविष्य र चाहना, अहिले विश्वको आवश्यकताबारे चिन्तित र गम्भीर भएको उनको भनाई छ ।