काभ्रेपलाञ्चोक : जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको ‘काभ्रे’ स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा रहेको छ ।

सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी एक गौरवको योजना हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष ०७३÷०७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे सिटी’ समेटी पुनः आब ०७४÷०७५ मा दश स्मार्ट सिटी थपेर १३ पु¥याएको थियो ।

बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्र्तगत नगरभित्रका पोखरी, पुराना ढुङ्गेधारा र मन्दिरको पुनःनिर्माण तथा मर्मतसम्भार शुरु गरेको छ । नगर उपप्रमुख रेखा दाहालले रु दुई करोड बजेटबाट हाल ऐतिहासिक सम्पदाको मर्मत तथा पुनःनिर्माणको काम थालिएको बताउनुभयो । उहाँका अनुसार ८ नम्बर वडास्थित ऐतिहासिक तला पुखु (पोखरी), दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुङ्गेधारा, लायकु राजमञ्च नजिकको तलेजु भवानी मन्दिरको मर्मतसम्भार गरिनेछ ।

यस्तै, वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी) को पुनःनिर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, र च्वापुखुको मर्मतसम्भार तथा पुनःनिर्माण गर्ने काम शुरु भएको छ । बनेपा–१४ साँगामा अवस्थित पोखरीको समेत मर्मतसम्भार गर्न सम्झौता भइसकेको छ । “पुनःनिर्माण तथा मर्मतसम्भार शुरु गरिएका संरचना ऐतिहासिक महत्व झल्कने हिसाबले नै निर्माण गरिनेछ”, दाहालले भन्नुभयो ।

पनौती नगरले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानको लागि सम्झौता गरेको जनाएको छ । साथै, पनौतीस्थित पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गरिने नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

यसैगरी जिल्लाको धुलिखेल नगरले कार्यक्रमअन्तर्गत ठूलीवनमा चार दशमलब पाँच किलोमिटर अपाङ्गमैत्री इको–ट्रेल निर्माण, एक नंवर वडास्थित देवीटारमा माउण्टेन स्पोर्टस् ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भारको काम गरिने नगरका इञ्जिनीयर हरेराम हुमागाईले बताउनुभयो ।

‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुल्ला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुनसक्नेछ ।

काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको काभ्रे स्मार्ट सिटी योजनाका लागि एकमुष्ठ रु पाँच करोड बजेट विनियोजन भएको छ । जसमध्ये बनेपालाई रु दुई करोड तथा धुलिखेल र पनौती नगरलाई रु एक करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको हो । सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ ।” उहाँका अुसार इ–गभर्नेस् पनि स्मार्ट सिटीको महत्वपूर्ण आधार हो । राष्ट्रिय योजना आयोगले भने स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ ।

२०७८ बैशाख ४, शनिबार ११:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय