काठमाडौँ : आईपीएल टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । मुम्बईमा सोमबार राति राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए । जयदेव उनाकडले २४ रन बनाउँदा राहुल टेवाटिया २० रनमा आउट भए ।

चेन्नईका मोइन अलीले ३ विकेट लिए । यस्तै साम कुरन र रविन्द्र जडेजाले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे । यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए । राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए । जितसँगै चेन्नई लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ ।

राजस्थानको यो दोस्रो हार हो । राजस्थान ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ ।

२०७८ बैशाख ७, मंगलवार ०६:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय