
काठमाडौँ : सोमबार बसेको मन्त्रिपरिषद बैठकले देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै विद्यालय तहको परीक्षा कसरी सञ्चालन गर्ने भन्ने अन्योलता बढेको छ ।
मुलुकभर कोरोना भाइरसको महामारी भयावह बन्दै गएपछि स्थगित भएको परीक्षा अब कसरी र कहिले हुने भन्ने चिन्ताले विद्यार्थीलाई पिरोल्न थालेको छ ।
कोरोना भाइरसको महामारी यही स्थितिमा रहे विद्यालय तहका सबै परीक्षा गत वर्षको एसईई जस्तै आन्तरिक मूल्यांकनकै आधारमा हुन्छ कि भन्ने आशंका पनि बढेको छ ।
यो वर्ष नयाँ शैक्षिक सत्र पनि अघिल्लो वर्षको जस्तै अन्यौलमय हुने हो कि भन्ने चिन्ता बढ्न थालेको विश्वनिकेत माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले बताए ।
उनले भने, ‘पछिल्लो केही समयदेखि विद्यार्थी र शिक्षकमा नै धेरै कोरोना संक्रमण देखिन थालेकाले अवस्था झन चिन्ता जनक बन्दै गएको छ ।’
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले विद्यालय र पूर्वनिर्धारित सबै परीक्षा तत्काललाई स्थगित गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई सोमबारको बसेको मन्त्रिपरिषद्ले पारित गर्दै मुलुकभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
यो निर्णयसँगै देशभरका विद्यालय बन्द भएका छन् । भने अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई वार्षिक परीक्षा तत्कालको लागि बन्द गर्न निर्देशन समेत दिइसकेको छन् ।
मंगलबार मात्रै काठमाडौँको गोर्कणेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाले पूर्वनिर्धारित परीक्षा स्थगित गरेका छन् । त्यस्तै धरान उपमहानगरपालिका, सल्यानको कपूरकोट गाउँपालिका लगायत धेरै स्थानीय तहले विद्यालय बन्द गर्न र तत्काल वार्षिक परीक्षा सञ्चालन नगर्न निर्देशन दिएका छन् ।