काठमाडाैं : पूर्व समाजवादी पार्टीका एक जना सांसदले आफू पार्टीको एकता जोगाउनका लागि प्रतिनिधि सभामा आज हुने मतदानमा तटस्थ बस्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने भनेर पूर्व समाजवादी पार्टीले निर्णय गरे पनि पार्टी एकता जोगाउनका लागि आफू तटस्थ बस्ने उनको कथन छ।
‘हाम्रो पार्टीको अध्यक्ष उपेन्द्र यादवजीले सबै सांसदहरूलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नका लागि विभिन्न किसिमको डर, धाक, धम्की दिनु भएको छ,’ ती सांसदले लोकान्तरसँग भने,‘तर, म त्यो धाक धम्कीलाई समेत वेवास्ता गर्दै पार्टीको एकता जोगाउनका लागि पक्ष, विपक्षमा नलागेर तटस्थ बस्ने निर्णय गरेको छु।’

समानुपातिक सांसदलाई कारवाही गरेर सांसद पदबाट हटाइदिने, प्रत्यक्ष निर्वाचित सांसदलाई जिल्लाको कार्यकर्तादेखि संसदीय क्षेत्रको कार्यकर्ताबाट दबाब दिलाउने जस्ता काम गर्दै आगामी चुनावमा टिकट नदिने जस्तो धम्की र दवाब आएको समेत उनले खुलाए।

जनता समाजवादी पार्टीको आइतवार बसेको पदाधिकारी बैठकले आज हुने मतदानमा सांसदलाई ह्विप नलगाउने निर्णय गरेको थियो।

विश्वासको मतका लागि पक्ष, विपक्ष वा तटस्थ जे मन लागे गर्न सांसदहरूलाई स्वायत्तता प्रदान गरिएको छ। जसपा भित्रको पूर्व राजपाका सांसदहरू तटस्थ बस्ने भनिरहेका छन् भने पूर्व सपाका सांसदहरू विपक्षमा मतदान गर्ने तयारीमा छन् ।

‘विपक्षमा मतदान गर्ने आफ्नो लाइनमा कायम रहिरहनका लागि अध्यक्ष उपेन्द्रजीले हामीलाई एकदम कडाइका साथ विभिन्न किसिमले निगरानी गरिरहनु भएको छ,’पूर्व सपाका ती सांसदले लोकान्तरसँग भने,‘एकातर्फ सांसदलाई स्वविवेक प्रयोग गर्न दिने, ह्विप नलगाउने निर्णय पदाधिकारी बैठकबाट गर्नु भएको छ भने अर्को तर्फ निगरानी सहित विभिन्न किसिमका धम्की समेत दिलाउने गरिरहनु भएको छ।’

आज प्रतिनिधि सभाको अधिवेशन बोलाइएको छ। उक्त बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेछन्। लोकान्तरबाट

२०७८ बैशाख २७, सोमबार ०९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय