
महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिकामा कोरोना संक्रमणबाट आधा दर्जन व्यक्तिको मृत्यु भएपछि स्थानीय प्रशासनले पूर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
यसअघि जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ देखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइएको थियो ।
जलेश्वर नगरपालिकामा मात्रै आधा दर्जन व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएपछि मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी नगरभित्र पूर्णरुपमा निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
जलेश्वर नगरपालिकाको जलेश्वर बजारको मीना बजार तथा आसपासका क्षेत्र, साहुजीपट्टी, महादेव मन्दिर लगायतका स्थानहरुमा पूर्णरुपमा निषेधाज्ञा लगाइएको हो ।
प्रजिअ भट्टराईले यस अवधिमा तोकिएको क्षेत्रमा अनावश्यक रुपमा घर बाहिर कोही निस्के सुरक्षाकर्मीले उनलाई तत्कालै नियन्त्रणमा लिई कारबाही गर्नसक्ने जानकारी दिए ।