महोत्तरी : जिल्लाको जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान गरिएको एक वर्ष बित्दा पनि सञ्चालनमा आउन नसकेको पाइएको छ । कोरोना सङ्क्रमित बिरामीका लागि गएको वर्ष प्रदेश सरकारले जलेश्वर अस्पतालमा जडान गरेको पाँच भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको हो।

भेन्टिलेटर सञ्चालनमा नआउँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । दुई करोड रुपैयाँभन्दा बढीको लागतमा प्रदेश सरकारले जडान गरेको भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जलेश्वर अस्पतालका कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिए ।

दरबन्दीअनुसारको चिकित्सक व्यवस्थापन नहुँदा अहिले पनि यो अस्पताल हेल्थ असिस्टेन्टको भरमा सञ्चालन भइरहेको कोभिड फोकल पर्सन सिंहले बताए । तीन जना एमबीबीएस स्तरका चिकित्सकको दरबन्दी कायम रहेको अस्पतालमा अहिले एमबीबीएस स्तरका एक जना डाक्टर (शतिश साह) हुनुहुन्छ । निमित्त सुपरिन्टेन्डेन्ट समेत रहेका डा. सिंहको धेरैजसो समय भर्चुअल बैठक, तालिम, गोष्ठी र भेटघाटमा खर्च हुँदै आएको छ ।

अस्पताल व्यवस्थापन एवम् सुधारका लागि चालेको कदम असफल भएपछि गएको जेठ ५ गतेदेखि आमरण अनसनमा बस्ने तयारी भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरश पाण्डेले बताए । आफू अध्यक्ष भएयता यो अस्पताल अनुगमनका क्रममा आएका सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री, सांसद, विभिन्न दलका नेताले अस्पताल सुधार गर्न दिएको आश्वासन पूरा नभएको उनको भनाइ छ ।

२०७८ जेष्ठ १, शनिबार ०८:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय