काठमाडौँ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ९४५ सवारी चालकलाई कारबाही गरिएको छ ।
शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ९ सय ४५ वटा सवारी साधनलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ ।
जसमध्ये ७ सय २७ वटा २ पाङग्रे, १ सय ५४ ओटा चारपाङ्ग्रे, ट्याक्सी २० र ४४ वटा अन्य ठूला सवारी साधन रहेका छन् ।
निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकाका सडकमा सवारी आवागमन निकै न्यून छ । काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म कायम छ ।