वीरगंज : पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको तेस्रो साता सुरु हुन लाग्दा दैनिक संक्रमितहरुको संख्यामा ओह्रालो लागेपनि मृत्युदरमा भने कमी आएको छैन । निषेधाज्ञा जारी भएको दोश्रो हप्तासम्म खासै प्रभावकारी नदेखिएपनि तेश्रो हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा कमी देखिएको छ, तर मृत्युदर भने कम हुन सकेको छैन ।

पर्सा जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने वीरगन्जका विभिन्न अस्पतालमा भर्ना भएका अन्य जिल्लाका ७ जना गरी कुल ११ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्साका ४ जना, बाराका ६ जना र सर्लाहीका १ जना रहेका छन् ।

विगत दुई सातादेखि दैनिक पर्साका मात्रै ३ देखि ८ जना कोरोना संक्रमितहरुले ज्यान गुमाई रहेका अवस्थामा आइतबार मात्रै ४ जना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१३ की ५० वर्षीया महिला, वडा नं. १९ का ४४ वर्षीय पुरुष एवं बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज–१ का ६४ वर्षीय पुरुष एवं वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत वीरगञ्ज–१० की ६८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसैगरी वीरगञ्जमा एक सातायता संक्रमण दर घट्दै गएपनि मृत्यु दर भने घटेको छैन । वीरगन्जका अस्पतालमा कोरोना संक्रमणले हुने मृत्यु दर अहिले २२ प्रतिशतको हाराहारीमा पुगेको छ । वैशाख दोस्रो र तेस्रो साता भने वीरगन्जमा मृत्यु दर १७ प्रतिशतको हाराहारीमा थियो ।

वैशाखाको पहिलो साता भने मृत्यु दर १४ प्रतिशतको हाराहारीमा थियो । तर वैशाख अन्तिम साता यता भने मृत्यु दर २२ प्रतिशत हाराहारीमा पुगेको हो । आइतबार साँझसम्म वीरगन्जका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमणले १ सय ५८ जनाले ज्यान गुमाएका छन् ।

वीरगन्जमा आइतबार मात्रै ११ जनाको मृत्यु भएको छ । शनिबार भने एकैदिन १५ जनाको मृत्यु भएको थियो । शुक्रबार पनि एकैदिन १६ जनाको मृत्यु भएको थियो । सबै भन्दा बढी संक्रमितको उपचार हुँदै आएको नारायणी अस्पतालमा मात्र आइतबार साँझसम्म ८३ जनाको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा अहिलेसम्म ३७१ संक्रमित भर्ना भएकामध्ये ८३ जना संक्रमितको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । नारायणी अस्पतालमा उपचारार्थ ३ सय ७१ जनामध्ये १ सय ९० जना निको भइ घर फर्किएका छन् भने ८३ जनाको मृत्यु भएको र १७ जनालाई रिफर गरिएको छ ।

पर्सा जिल्लामा हाल १ हजार ८ सय ९७ जना सक्रिय संक्रमित छन् । तीमध्ये वीरगन्जका विभिन्न १३ अस्पतालमा हाल ३ सय ७६ जना संक्रमित उपचाररत छन् । एचडडीयूमा १ सय ८९, आईसीयूमा १ सय ४७ र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ ।

२०७८ जेष्ठ २, आईतवार २१:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय