काठमाडौँ : सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका चार सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशमा उल्लेख छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै मन्त्रीमा नियुक्त भएका चार जनालाई जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अनुशासनको कारवाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो । सोही आधारमा सभामुखले पद मुक्त गरेपछि चार नेता सर्वोच्च पुगेका थिए । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने उनीहरूलाई कारवाही गरिएकोमा आपत्ति जनाएको थियो ।