बर्दिबास : नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको विपद व्यवस्थापन कोषमा सहयोग रकम थपिदै छ ।
महासङ्घ महोत्तरी शाखाले भर्खरै स्थापना गरेको ‘नेपाल पत्रकार महासङ्घ, महोत्तरी शाखा विपद व्यवस्थापन कोष’ जिल्लाकै बर्दिबासस्थित होटल गौतमका कर्मचारीले आज सोमबार ५१ हजार ७३५ रुपैंयाँ सहयोग गरेका हुन् । कर्मचारीहरुबाट सामुहिक रुपमा सङ्कलित सो रकम होटलका प्रवन्धक राजकुमार दाहालले महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललाई हस्तान्तरण गर्नु भएको हो ।
सधैं जनतालाई सुसूचित गराउन अग्रपङ्तिमा रही काम गर्ने पत्रकारलाई अप्ठ्यारो परिस्थितिमा आफ्नै कोषबाट सहयोग हुन सकोस् भन्ने ध्येयले सहयोग गरिएको होटलका कर्मचारीहरुको सामुहिक भनाइ छ । “हामी पनि पुगी सरी आएका हैनौ, काम गरेर गुजारा गर्छौं” प्रवन्धक दाहालले भन्नुभयो, “हाम्रो मेहनत पनि लोककल्याणमा पुगोस् भनेर पत्रकारको विपद् व्यवस्थापन कोषमा सहयोग गरेका हौं ।”
कोरोना महाव्याधीका बेला काममा खटिदा जोखिममा पर्ने पत्रकारको उपचार र अन्य न्युनतम प्रवन्ध गर्न सकियोस् भन्ने हेतुले कोष स्थापना गरी सञ्चालनमा ल्याइएको महासङ्घ महोत्तरी शाखाका अध्यक्ष मण्डलको भनाइ छ । अध्यक्ष मण्डलले कोष दर्विलो बनाउन सहयोगका लागि जिल्लाबासीलाई अपिल पनि गर्नुभयो ।
यसअघि तीन दिन पहिलेमात्र यो कोषमा बर्दिबास हेल्प फाउण्डेसनले ५० हजार सहयोग प्रदान गरेको थियो । कोषको रकम पत्रकार सुरक्षा र उपचारमा खर्च गरिने गरी कार्यविधि बनाइएको महासङ्घ महोत्तरी शाखाले स्पष्ट पारेको छ ।
पछिल्लो पटक बढेको कोभिड-१९ महाव्याधीले भर्खरै दुईजना पत्रकार सङ्क्रमण चपेटामा परेका थिए । यसअघि २०७७ असोजमा जिल्लाका नौ जना पत्रकारमा सङ्क्रमण पुष्टि भएको थियो । अहिले सबै निको भएर काममा फर्की सकेका महासङ्घ महोत्तरी शाखाले जनाएको छ ।