
सिरहा : दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ ।
भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारवटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिए ।सिरहा अस्पतालमा एचडियु १५ श्यया र आइसियु पाँच श्यया र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन ।
सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।