महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिका–४ खेस्राहा गाउँका १ बालक विगत ३ दिनदेखि बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा ६ वर्षीय युवराज महतो मंगलवार बिहानदेखि बेपत्ता भएका हुन् ।

मंगलवार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रस्टसँग देख्न नसकेको व्यक्तिले हातको औंला समाउँदै डुलाउन भनी गाउँतिर लगेको घरनजिकै गोठमा काम गरिरहेकी निजकी हजुरआमा चम्पादेवीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

उनकी हजुरआमाले गाउँ टोलकै कोही होला भन्दै चासो लिइकी थिइनन् ।

बिहान ११ बजे नै बेपत्ता भएका बालक दिउँसो अबेरसम्म घर नफर्केपछि घरपरिवारमा चिन्ता बढ्यो र उनकी आमा संगीता देवीले रुन कराउन थालेपछि घरपरिवारसहित टोल छिमेक सबैले बालक युवराजको खोजतलास गर्न थाले ।

दिनभरि बालकलाई गाउँभरि खोजियो तर कतै कुनै पत्तो नलागेपछि खेस्राहा प्रहरी चौकीमा जानकारी गराएको उनका बुवा शत्रुधनले बताए ।

त्यसपछि प्रहरीले पनि बालकलाई छिमेकी गाउँमा पनि खोजतलास गरे । बालक फेला परेनन् । त्यसपछि परिवारजन र गाउँलेले बालक युवराजको खोजतलासका लागि इलाका प्रहरी कार्यालय गौशालामा अनुरोध गरेपछि प्रहरी निरीक्षक बस्यालले आफैं र अरु प्रहरी समेत परिचालन गरी बालकको खोजतलासमा लागिपरेका छन् ।

२०७८ जेष्ठ ६, बिहीबार ०८:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय