जनकपुरधाम : ज्वरो, झाडापखाला, रुघाखोकी लगायतको रोगी बढ्दै गएपछि धनुषाको हँसपुर नगरपालिकाले किटनाशक औषधि छर्किने अभियान सुरु गरेको छ ।

हँसपुर नगरपालिकाको वडा नं. ९ सोनिगामा टोलमा सोमबार मेयर रामज्ञान मण्डलले अभियानको सुरुवात गरे । नगरपालिकाको ३२ वटै टोलमा किटनाशक औषधि छर्केर महामारीको बेला निम्तिएको विभिन्न रोगहरु न्युनिकरण गर्न अभियान संचालन गरिएको मेयर मण्डलले बताए ।

यसले विभिन्न किरा फटयांग्राहरु नष्ट हुने विश्वास उनले व्यक्त गरे । झण्डै २५ वर्षपछि ती गाउँहरुमा किटनाशक औषधि छर्किन लाग्दा स्थानीयहरु हर्षित भएका छन् । २५ वर्ष अघि मलेरिया विरुद्ध गाउँ गाउँमा किटनाशक औषधि छर्किएको थियो । कोरोनाले महामारीको रुप लिएको बेला यतिखेर ग्रामीण क्षेत्रमा ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका रोगीहरु बढ्दै गएको छ ।

यस्ता रोगीहरुमा कोरोनाको संक्रमण हुन सक्ने आशंकामा स्थानीय त्रसित रहेको बेला हँसपुर नगरपालिकाले किटनाशक औषधि छर्किन लागेको हो । १६/१६ जना गरी दुई वटा टोली परिचालन गरी केही दिन भित्रै घर घरमा किटनाशक औषधि छर्किने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले जनाए ।

किटनाशक औषधि छर्किने अभियानमा वडाध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वयम्सेविकाहरुले समन्वय गर्ने मेयर मण्डलले जनाए । महिला स्वयम्सेविकाहरुले घर घरमा पुगेर घर खाली गराउन लगाएर किटनाशक औषधि छर्किने अभियानमा खटिएकाहरुलाई सहयोग गर्ने उनले बताए । वडा नं. ९ का वडाध्यक्ष नरेश कुमार मण्डल लगायत स्थानीय भद्रभलादमीको उपस्थितिमा किटनाशक औषधि छर्किने अभियानको थाालनी गरिएको हो । सोमबार वडा नं. ९ र वडा नं. ८ भतही टोलीमा किटनाशक औषधि छर्किएको छ ।

२०७८ जेष्ठ ११, मंगलवार ०७:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय