वीरगञ्ज : चर्काे शूल्क लिएर बिरामी ठगेको प्रभु हस्पिटलविरुद्ध उजुरी परेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर १ बस्ने सञ्जय रस्तोगीले आफ्नी आमा उर्मिला देवीको उपचारमा प्रभु हस्पिटलले बढी शूल्क लिएको भन्दै उजुरी दिएका हुन् ।

केही दिनअघि प्रजिअ घिमिरे, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी लगायतको रोहबरमा बसेको बैठकमा अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले बढी लिएको शूल्क फिर्ता गर्ने घोषणा गरेपछि बढी शूल्क असुल्ने अस्पतालका सञ्चालकलाई कारवाही गर्न र बढी लिएको शूल्क फिर्ता गर्नुपर्ने मागसहित रस्तोगी उजुरी दिन गएका थिए । प्रमुख जिल्ला अधिकारी (सिडिओ) घिमिरेले उजुरीमा तोक लगाएर हस्ताक्षरा गरी प्रभु हस्पिटललाई गुनासोको सम्बोधन गर्न निर्देशन दिएका छन् ।

यात्राडेलीसँगको कुराकानीका क्रममा सिडिओ घिमिरेले कोभिड संक्रमितका उपचारमा १ दिनको बढीमा २२ हजार ५ सय भन्दा बढी लिन नपाउने भन्दै त्यो भन्दा बढी लिएमा फिर्ता गर्नुपर्ने बताए । नेपाल सरकारले निजि अस्पताललाई अधिकतम २२ हजार ५ सय रुपैयाँसम्म तोकेपनि रस्तोगीले प्रभु हस्पिटललाई ८ दिनको २ लाख १ हजार ४ सय ५० रुपैँया बुझाएका छन् । जुन सरकारले तोकेको भन्दा दैनीक २ हजार ६ सय ८१ रुपैँयाले बढी हुन्छ । जसअनुसार ८ दिनको २१ हजार ४ सय ४८ रुपैयाँ हुन आउँछ । यो बाहेक उनले औषधीको छुट्टै मूल्य तिरेका छन् ।

सरकारले तोकेको शूल्कभन्दा बढी हुने २१ हजार ४ सय ४८ रुपैयाँ फिर्ता गर्नुपर्ने रस्तोगीको माग छ । प्रभु हस्पिटलका सञ्चालकद्वय डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा गुप्ता र अस्पतालका प्रशासक दिलिपराज कार्कीलाई विरोधी बनाएर रस्तोगीले उजुरी दिएका हुन् ।

रस्तोगीका अनुसार अस्पतालले आमाको स्वास्थ्य अवस्था ठीक नहुँदै कोभिड सर्न सक्छ भनेर पठाइदिँदा अहिले अवस्था झनै बिग्रिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनः वीरगञ्ज ल्याएर नारायणी अस्पतालमा उनले आमालाई भर्ना गरेका छन् । नारायणी अस्पतालमा गरिएको एक्सरेमा फोक्सो पहिलेको तुलनामा झनै चिन्ताजनक अवस्थामा पुगेको अस्पतालका चिकित्सकले बताए ।

२०७८ जेष्ठ १७, सोमबार १३:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय