प्रिन्स मिश्रा

कृष्णनगर (कपिलवस्तु) : भारतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि राज्यले जीविकोपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले कोरोनाको त्रासलाई दबाएर एक महिनाभित्र २ हजारभन्दा बढी नेपाली नागरिक कपिलवस्तुको कृष्णनगर नाका हुँदै कामका लागि छिमेकी राष्ट्र भारत गएका छन् ।

लकडाउन र कोरोना कहरले गर्दा खान-लगाउन समस्य भएकोले काम खोज्दै नेपालीहरू भारततिर गएका हुन् । लकडाउन सुरु भएपछि नेपाल फर्किएका नेपालीहरू पनि नेपालमा फसेका केही भारतीय समेत आफ्नो देश फर्केका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए ।

बिरामी, औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, विवाहमा १५ जनालाई आवतजावत गर्न दिएको बताउँदै पौडेलले भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको बताए ।

कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगर (लिंक गेट)का नायव निरीक्षक तारा खनालको भनाइ छ । कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाइ छ ।

सम्बन्धित कम्पनी, कल कारखाना, आदिको परिचयपत्र, बिरामी, औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउनेलाई सोधपुछ गरेर मात्र भारत जान दिएको जानकारी पनि दिए । दैनिक सय जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको खनालको भनाइ छ ।

त्यस्तै, कोरोना महामारीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी र रेडक्रस सोसाइटीको पहलमा र युनिसेफको सहयोगमा इलेक्ट्रोनिक एकुवा सेन्सर प्रविधिको सेनीटाइजर मेसिन कृष्णनगर लिंक गेटमा जडान गरिएको र सुत्केरी, अपाङ्ग, महिला, असक्त बिरामीहरूको लागि कपिलवस्तु जिल्लाभरिका बिरामीहरूको लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको बोर्डर आउटपोष्ट कृष्णनगरका निरीक्षक प्रकाश आचार्यले बताए ।

२०७८ जेष्ठ २६, बुधबार १४:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय