
जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमण ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा शुक्रवार मात्र ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धनुषामा ३५ जना, महोत्तरीमा ५ जना, सिरहामा १२ जना, सप्तरीमा ८ जना, सर्लाहीमा १ जना, रौतहटमा ५ जना र पर्सामा ३ जना संक्रमित थपिएका हुन् ।
यस्तै अन्य प्रदेशका ४ जनामा पनि संक्रमण पुष्टि भएको बताइएको छ । हालसम्म ३५ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २५ हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । शुक्रवार मात्रै १६६ जना कोरोनामुक्त भएर घर फर्केका हुन् ।
शुक्रवार सिरहा, बारा र रौतहटमा एक/एक जनाको मृत्यू भएको निर्देशनालयले जनाएको छ ।
यो सहित कोरोनाबाट यस प्रदेशमा मृत्यू हुनेको संख्या ९४८ पुगेको छ । अहिले ८ हजार ८२७ जना सक्रिय संक्रमित उपचाररत छन् । संक्रमणदर घटेपछि निषेधाज्ञा फितलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जेठ मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञाको अवधिमा जनकपुरमा फाटफुट रुपमा सवारी साधन चल्न थालेको देखिन्छ ।
पसलहरु भने विहान ९ बजेसम्म मात्र खुल्छ । अन्य जिल्लामा पनि निषेधाज्ञा छ । तर विस्तारै निषेधाज्ञा प्रभावहिन बन्दै गएको छ । सिरहा, सप्तरी, महोत्तरी, बारा र पर्सा लागयतका ठाउँमा पनि सर्वसधारणको चहलपहल बढेको छ । लामो दुरीका सवारी साधन मात्र चलेका छैन ।