
महोत्तरी : महोत्तरीमा गोली हानेर डकैती गरिएको छ । सम्सी गाउँपालिका १ पर्साबजारमा गएराती डाकाहरुको समूहले राजीव ज्वेलर्स सुन चाँदी पसलमा डकैती गरेका हुन् ।
डाकाहरुले ज्वेलर्सका संचालक विरेन्द्र साहमाथि गोली हानेका छन् । उनको उपचार जनकपुरमा सम्भव नभएपछि धरान लगिएको छ । उनको कम्मरमा गोली लागेको छ ।
साहको श्रीमती ४५ वर्षीया शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीया कंचन कुमारी साह र १७ वर्षीय छोरा राजिव साहमाथि डकैतहरुले रड प्रहार गरेका छन् । घाईते उनी सबैको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको अनुसार डकैतहरुले चाँदी १७२ तोला (करिब २ लाख ३२ हजार बराबरको), सुन ५ तोला (करिब ४ लाख ६५ हजारको) र नगद २ लाख लुटेर लगेका छन् । डकैतहरुको खोजी भइरहेको प्रहरीको भनाई छ ।