
महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई अत्यावश्यक कृषि सामग्री वितरण गरेको छ ।
जिल्लाकै उत्कृष्ट तरकारी पकेटक्षेत्रका रुपमा मानिएको मटिहानी-६ का किसानलाई आज बिहीबार नगरप्रमुख हरिप्रसाद मण्डलले कृषि सामग्री वितरण गर्नु भएको हो । खेतीको मुख्य बेला जिल्लामा कोभिड-१९ सङ्क्रमण छल्न जारी निषेधाज्ञाबीच कृषि सामग्री लिन बजार जान नसकेका किसानलाई यो कार्यक्रमले राहत दिएको छ ।
नगरपालिकाले किसानलाई नेपाल सरकारको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पैकेट) बिकास कार्यक्रमअन्तर्गत गटोर, स्पेयर्स, हजारी जैविकमल, जैविक किटनाषक औषधी (विषादि), कृषिचुन, बिउविजनसहितका कृषि सामग्री प्रदान गरेको हो । बस्तीका व्यवसायिक रुपमै तरकारी खेती अपनाएका ३० जना किसानलाई पहिलो चरणमा सामग्री प्रदान गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
किसानलाई खेती कार्यमा सहज र उत्प्रेरित गराउन यो कार्यक्रम प्रभावकारी हुने नगर कार्यपालिकाको कार्यालयका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताउनु भयो । यो कार्यक्रमले निरन्तरता पाउने शाखाले जनाएको छ । महाव्याधिले जकड्याएर कृषि सामग्री ल्याउन कतै निस्कन नसकेका बेला प्राप्त सामग्रीले खेतीपातीको काम अघि बढाउन राहत मिलेको किसानले बताएका छन् ।