1 तपाइँ प्रदेश सांसदबाट निलम्वित हुनुहुन्थ्यो, अहिले सिधै केन्द्रीय सरकारको क्याबिनेट मन्त्री हुनुभयो । कस्तो अनुभूति भइरहेको छ ?

— मैले सुरुदेखि पदभन्दा पनि मेरो लागि देश र जनता ठूलो हो भन्ने हिसावले अभियानमा लागेकी हुँ । त्यो अभियानको क्रममा नेकपा विभिन्न कारणवश पूर्ववत् अवस्थामा फर्कियो । तर मैले पहिलो अध्यक्ष केपी शर्मा ओलीजी नै हो भनेर उहाँसँगै अभियानमा लाग्ने निर्णय गरें । मेरो लागि पद महान होइन, देश र जनतालाई कसरी बचाउने भन्ने कुरालाई नै केन्द्रमा राखें । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी हाम्रो क्षमता र योग्यतालाई मूल्यांकन गरेर मलाई सरकारमा सामेल गर्नुभएको छ, म गर्व गरेको छु । म उहाँलाई विशेषगरी धन्यवाद पनि दिन चाहन्छु कि जुन किसिमको जिम्मेवारी दिनुभएको छ, यसप्रति म धेरै खुशी छु र आफ्नो जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

2 अप्ठ्यारो समयमा प्रधानमन्त्रीलाई साथ दिनेहरुलाई उहाँले प्रोमोशन गरेको देखिन्छ । भनेपछि तपाइँलाई पनि केही आश्वासन दिनुभएको थियो ?

—- मलाई कुनै किसिमको आश्वासन दिनुभएको थिएन । उहाँसँग मेरो खासै चिनजान पनि थिएन । तर म उहाँको विचार, देशप्रतिको अडान, पार्टीप्रतिको जिम्मेवारी र हरेक कुरामा खुलेर निर्णय गर्ने कुराबाट म प्रभावित भएँ । उहाँले अहिलेसम्म कुनै पनि व्यक्तिलाई आश्वासन दिने, प्रलोभन देखाउने लगायतको काम गर्नु हुन्न । उहाँलाई मैले नेपालको एउटा श्रेष्ठ नेताको रुपमा हेरेको छु । किनभने उहाँले काम गर्ने क्षमतावान व्यक्तिहरुलाई अवसर प्रदान गर्दै आउनुभएको छ । उहाँ नातावाद, कृपावाद र द्रव्यवादलाई बिल्कुलै स्थान दिनुभएको छैन । मलाई पनि उहाँले कुनै किसिमको आश्वासन दिनुभएको थिएन र मैले त्यस्तो इच्छा पनि जाहेर गरेकी थिइनँ । मलाई मन्त्री बनाउने कुरा केहीबेर अगाडि मात्रै थाहा पाएको थिएँ । शपथ ग्रहणभन्दा एकछिन मात्रै अगाडि मैले थाहा पाएँ । नेकपा एमालेको प्रदेश २ को अध्यक्षमा पनि मलाई चयन पनि अचानक नै थाहा पाइयो ।

3 तर, उहाँको चौतर्फी विरोध भइरहेको छ, प्रदेशहरुमा पनि विपक्षीहरु गठबन्धन बनाइरहेका छन् नि ?

—- राम्रो काम गर्नेहरुलाई कतिपयले पचाउन सकिरहेको हुँदैन । जो राम्रो काम गर्छ उसको कुराहरु पनि उतिकै हुन्छन् । हाम्रो समाजमा खुट्टा तान्ने प्रवृत्ति हावी भएको छ । आफू पदमा हुँदा केही गर्न नसक्ने तर अरु कसैले राम्रो काम गरिरहेको देख्दा विरोधका लागि मात्र विरोध गर्नेहरु धेरै छन् । केही नेताहरुमा व्यक्तिगत स्वार्थ हावी हुँदै गयो । यस्ता प्रवृत्ति र पात्रहरुलाई जनताले राम्ररी हेरिरहेका छन् । देश र जनताको समृद्धि तथा विकासको अभियानलाई सबैले साथ दिइरहेका छन् । राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ भने नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्री ओली विरामी हुँदा पनि उहाँमा जुन किसिमको देशभक्ति देखियो, त्यसलाई जनताले हेरेका छन् । उहाँले एक थोपा रगत रहुञ्जेलसम्म देशका लागि काम गरिरहने हिम्मत देखाउनुभएको छ । उहाँको यस्तो अडानमा सहयोगी भूमिका खेल्नुपर्ने बेलामा विपक्षीहरुले घेराबन्दी गर्न खोजेका छन् ।

4 प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन जस्तोसुकै निर्णयहरु गर्दै आउनुभएको छ । जसपालाई सरकारमा ल्याउन नागरिकता अध्यादेश ल्याइयो तर त्यसमा सर्वोच्च अदालतले रोक लगायो नि ?

—- जसपालाई सरकारलाई सहभागी गराउनु हुँदैन भन्ने कुरा छैन । आवश्यकता परेको बेला जुनसुकै दल सरकारमा सहभागी हुन सक्छन् । जस्तो परिस्थिति आउँछ त्यस अनुसारको निर्णय गर्नुपर्छ । निषेधको राजनीति गर्नु हुँदैन । जसपा सरकारमा जाँदैमा के–के नभयो जस्तो केही व्यक्तिहरुले ठानेका छन् । नकारात्मक सोच राख्नु हुँदैन । गलत व्यक्तिहरुले त्यस्तो मानसिकता राखेका छन् । प्रधानमन्त्री ओलीको बारेमा आममधेशी जनतामा जुन किसिमको एउटा नकारात्मक प्रचार गरिएको थियो त्यो अहिले हटिसेकेको छ । मधेशका जनताले पनि प्रधानमन्त्री ओलीजीलाई मन पराइरहेको अवस्था छ ।

5 नागरिकता अध्यादेश जारी हुँदा जसपालाई सरकारमा सहभागी हुन सहज भएको थियो तर अहिले सर्वोच्चको रोकावटले प्रश्न उठ्दैन ?

— जसपा भनेको मुद्दाका लागि आन्दोलन गर्दै एउटा राजनीतिक शक्तिको रुपमा स्थापित भएको पार्टी हो । जसपाले सुरुदेखि नै भन्दै आएको थियो कि मागहरु सम्बोधन हुन थालेपछि सरकारमा पनि सहभागी हुन्छौं । त्यसैले जसपाका धेरै मागहरु प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभयो र कतिपय मुद्दाहरु सम्बोधनको क्रममा छ । सोही क्रममा नागरिकता अध्यादेश जारी भएको थियो । हामीले राजनीतिक हिसाबले आफ्नो एजेन्डा अगाडि बढाइरहँदा अदालतले जुन किसिमको बाधा खडा गरिरहेको छ, यसले सरकारलाई नै असफल पार्न षड्यन्त्र भइरहेको जस्तो देखिन्छ । सबैतिरबाट सरकारलाई घेराबन्दीमा पारेर कसरी असफल पार्ने भन्ने मनसाय देखिएको छ । नागरिकता अध्यादेशसम्बन्धी अदालतको यस्तो निर्णयले हामी दुःखी छौं । यसबारे सरकार अब कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफलमा नै छ । यो निर्णयले हाम्रो लागि समस्या उत्पन्न गरेकै हो ।

6 संसद विघटनको विरुद्धमा पनि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यदि फेरि संसद पुनस्र्थापना भयो भने तपाइँको अवस्था के हुनेछ ?

—- म मन्त्रीकै लागि वा कुनै पदकै लागि राजनीति गर्ने मान्छे होइन । मन्त्री पत्र पाउने बित्तिकै अमर भइन्छ भन्ने सोच मैले राखेको पनि छैन । मलाई प्रधानमन्त्रीजीले जुन अवसर प्रदान गर्नुभएको छ, यो मेरो सधैंका लागि हो भन्ने पनि सोच राखेकी छैन । उहाँलाई आवश्यकता महसुस गरेर मलाई जिम्मेवारी दिनुभएको छ । भोलीको दिनमा कस्तो परिस्थिति बन्छ, त्यसपछि सोच्ने दिन आउँछ । अहिले नै त्यो परिस्थिति आइसकेको छैन । भोलीको परिस्थिति के हुन्छ त्यो अनुसार हामीले निर्णय गर्नेछौं । सम्माननीय प्रधानमन्त्रीजी देश र जनताका लागि जुन कामहरु गरिरहनुभएको छ, त्यसलाई हामीले जुनसुकै परिस्थितिमा साथ दिन्छौं । तर मलाई जुन जिम्मेवारी दिइएको छ, त्यसलाई पूर्ण निष्ठा र इमान्दारीका साथ देश र जनताको पक्ष काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

7 तपाइँले एकदमै महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । नेपालको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई उकास्ने तपाइँको रोडम्याप के हो ?

— विशेषगरी नेपाल कृषि प्रधान देश हो र झण्डै ८० प्रतिशत नेपाली जनता कृषिमा आधारित छन् । कृषि क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने हाम्रो महत्वपूर्ण दायित्व हो । किसान हाम्रा अन्नदाता पनि हुन् । अन्नदाता बिना हामी बाँच्न पनि सक्दैनौं । कृषि क्षेत्रमा देखिएका समस्याहरु मलखाद्यको अभाव, कृषि औजार, सिंचाइ लगायत धेरै समस्याहरु छन् । यी समस्याहरु कसरी समाधान गर्ने विषयमा मेरो विशेष जोड हुनेछ । सम्माननीय प्रधानमन्त्री ओलीजीले कृषकहरुको आवश्यकतालाई राम्रोसँग पहिचान गर्नुभएको छ । किसानको दुःख, पीडा र समस्या हटाउन हामी हरपल तत्पर हुन्छौं । किसानले उत्पादन गरेको वस्तु उचित बजार पाओस् र उचित मूल्य पाओस् भन्ने हाम्रो सक्दो प्रयास हुनेछ । किसानले खेतमा मल हाल्छन् तर माटोअनुसारको कुन मल हाल्ने भन्ने कुरालाई हामी विशेष ध्यान दिनेछु । मैले जिम्मेवारी पाउने बित्तिकै मन्त्रालयमा यसबारे ब्रिफिङ्ग पनि गरेको थिएँ । माटोको परीक्षण गरी कार्डको पनि व्यवस्था गर्दै जाने व्यवस्था भइदिएको भए किसानहरुको हक राम्रो हुन्थ्यो । विभिन्न कारणवश किसानले उब्जाएको अन्नबाली नष्ट हुने गरेको हुन्छ, जसकारण किसान पीडामा पर्ने गरेको हुन्छ । त्यसलाई मध्यनजर गरी बाली बीमा पनि ल्याउने पनि मेरो योजना छ ।

अर्को कुरा किसानहरुले विभिन्न खाद्य तथा अन्नबालीहरु उब्जनी गर्छन् तर उचित बजार व्यवस्थापन नहुँदा मूल्या पाइरहेको हुँदैन । जसले गर्दा आम किसान समस्यामा परिरहेको हुन्छ । त्यसका लागि पनि हामीले राष्ट्रिय कृषि बजार योजना ल्याउन सक्यौं भने किसानलाई धेरै हदसम्म राहत हुन्छ । प्रविधिको धेरै विकास भइसकेको छ, किसानहरुको हकमा पनि अनलाइन मार्केटिङ्ग गर्ने व्यवस्था ल्याउनुपर्छ । त्यो भयो भने किसानले सहजै आफूले उत्पादन गरेको तरकारी, फलफूल, माछा, मासु लगायतका सामानहरु बिक्री गर्न पाउँछन् । कृषि क्षेत्रको सम्पूर्ण जानकारी डिजिटल माध्यममा ल्याउनु सकियो भने किसानको समस्यालाई सम्बोधन गर्न सजिलो हुन्छ । त्यसबारे पनि हामीले गहन छलफल गरेर नीतिगत तरिकाले ल्याउनुपर्छ । यसमा मेरो विशेष जोड छ । म एउटा किसानकै छोरी भएकोले मलाई किसानको पीडा र समस्या थाहा छ । तसर्थ किसानका समस्याहरु कसरी सम्बोधन गराउने विषयमा पनि मेरो विशेष पहलकदमी हुनेछ ।

8 कृषि क्षेत्रमा सबभन्दा प्रमुख समस्याको रुपमा मलखाद्य र सिंचाइको समस्या देखिएका छन्, यसलाई कसरी समाधान गर्नुहुन्छ ?— मलखाद्यको सन्दर्भमा म अहिले मन्त्रालयमा बुझ्नेछु । म भर्खर यो मन्त्रालय सम्हालेकोले सबै कुरा थाहा छैन । अहिले हामीसँग कति मलखाद्य उपलब्ध छ र कति वितरण भएको छ, यसको विवरण लिनेछु । वास्तवमा नेपालमा मलखाद्य र सिंचाइको ठूलो समस्या नै छ । पद्मा अर्यालजी मन्त्री हुँदा उहाँले कतिपय कुराहरु उहाँले नीतिगतरुपमा नै अगाडि बढाइसक्नुभएको छ । तर कतिपय कुराहरु अझ पनि अल्झिरहेको अवस्था छ । ती विषयहरु कसरी अगाडि बढाउने त्यसमा मेरो प्रयत्न हुनेछ । मेरो पहल अर्गानिक खेतीतर्फ पनि हुन्छ । किनभने विगतमा मलखाद्यभन्दा पनि गोबर मलको प्रयोगबाट पनि राम्रो उब्जनी हुन्थ्यो । तर आजभोली विषादीयुक्त मलको प्रयोग हुन्छ, जसले गर्दा मानवजीवनमा धेरै नकारात्मक असर पनि परिरहेको छ र महँगो पनि हुन्छ । त्यसले गर्दा हामीले यस कुरालाई पनि मध्यनजर गरेर ठाउँ–ठाउँमा आर्गेनिक मलको लागि छुट्टै उद्योगको स्थापना गर्न जरुरी छ । सातै प्रदेशमा कमसेकम एउटा पनि अर्गानिक मलको उद्योग स्थापना गर्न सकियो भने किसानलाई धेरै सहज हुनेछ । यो मेरो योजना पनि रहेको छ । यो योजनालाई अगाडि बढाउन मैले विभिन्न क्षेत्रका विज्ञहरुसँग पनि छलफल र सल्लाह गर्नेछु । सिंचाइको धेरै समस्या समाधान भइसकेको छ तर मुख्य समस्या मलखाद्यको नै हो ।

9 प्रदेश सरकारहरुले पनि आफ्नो नीति तथा कार्यक्रमहरु ल्याइरहेका छन् । प्रदेश २ को सरकारले पनि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश २ को सरकारले कृषिलाई बढी प्राथमिकता दिएको देखिन्छ । तर कार्यान्वयन पक्ष फितलो हुन्छ । यस सन्दर्भमा प्रदेश र संघीय सरकारबीच कस्तो सहकार्य हुनेछ ?

— संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर नै आफ्नो कामहरु अगाडि बढाउँछ । प्रदेश सरकारहरुले अहिले त आफ्नो नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने क्रममा नै छ । म पनि यो मन्त्रालयमा अहिले नयाँ छु । सबै प्रदेशहरुको नीति तथा कार्यक्रमलाई अध्ययन गरी कसरी कृषि क्षेत्रमा राम्रो गर्न सकिन्छ, त्यस सन्दर्भमा सबै प्रदेशसँग सहकार्य र समन्वय हुन्छ । खासगरी प्रदेश २ मा कृषिको धेरै सम्भावना रहेको छ । प्रदेश २ को सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशको नीति तथा कार्यक्रमलाई अध्ययन गरी कृषि क्षेत्रलाई कसरी उकास्न सकिन्छ भन्ने विषयमा प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरी कार्यहरु अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

10 जुन मन्त्री आएपनि आश्वासनहरु राम्रा–राम्रा दिन्छन् । तर तपाइँको कार्यकालमा जनताले के नयाँ हेर्न पाउँछन् ?

— मैले जति पनि प्रतिबद्धताहरु गरेको छु, ती कुराहरुलाई कार्यान्वयनका लागि नीतिगतरुपमा नै तीव्रगतिमा कार्यहरु गर्नेछु । म जति दिन यो मन्त्रालयको जिम्मेवारीमा हुन्छु, हरेक दिन केही न केही नीतिगतरुपमा योजना र कार्यक्रमहरु ल्याउनेछु । त्यसलाई कार्यान्वयनका लागि पनि प्रगतिहरु हेर्न पाउनुहुनेछ । आमकिसानहरुको समस्याहरु मलखाद्य, सिंचाइ, बजारीकरण, बाली बीमा लगायतका विषयहरुलाई छिट्टोभन्दा छिट्टो नीतिगतरुपमा अगाडि बढाउनका लागि जोड दिनेछु । किसानहरुसँगै रहेर काम गर्न म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । मधेशवाणीबाट


२०७८ असार ४, शुक्रबार १२:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु