काठमाडौँ : ज्वाला संग्रौलाले सरुवा गरिदिने धम्की दिएको एक हप्ता नबित्दै सरुवामा परेका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई पुनः महाराजगञ्ज फिर्ता गरिएपनि उनलाई संग्रौलाको आदेशमा सरुवा गर्ने प्रहरीका एसएसपीलाई कारबाहीको माग प्रहरी वृत्त देखि सामाजिक सञ्जालमा उठेको छ।

काज फिर्ता भएपछि बुधबार नै झा महाराजगञ्जमा हाजिर भएपनि प्रहरी भित्र बाहिए हस्तक्षेप भित्राएर संगठन भित्र कार्यरतहरुको मनोबल गिराउने प्रहरीलाई कारबाही गर्नु पर्ने माग उठेको हो।

प्रहरी स्रोतका अनुसार महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा सरुवा भएर आएको ६ महिना पनि नबित्दै अत्यन्तै अपमानजनक ढंगबाट सरुवामा परेका असई झालाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बोलाएर बग्गीखानामै काज सरुवा हुन भनेका थिए।

विभिन्न सञ्चार माध्यममा आए अनुसार जेठ ११ को घटना भएको एक सातापछि उनलाई महाशाखा प्रमुख एसएसपी भट्टराईले बग्गीखानामा काज सरुवा गरेका थिए।

तर एसएसपी भट्टराईले भने यो विषय अस्वीकार गरेका छन्। ‘कसैको दबाबमा सरुवा भएको होइन। उहाँ आफैं आउन चाहेर आउनु भएको हो। यो विषय नै मलाई थाहा थिएन। हिजो समाचार र भिडियो देखेपछि फेरि महाराजगञ्ज नै फिर्ता पठाइएको छ,’ एसएसपी भट्टराईले भने।

बुधबार भट्टराईले नै उनलाई फेरि महाराजगञ्ज फिर्ता हुनेगरी रमाना बुझ्न लगाएका थिए।

प्रहरी स्रोतका अनुसार यो घटना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ‘नोटिस’मा परेकोले छिट्टै एसएसपी भट्टराईलाई कारबाही प्रक्रिया अघि बढ्ने बतायो। संग्रौलासहित उनको टिमले गरेको रंगभेदी दुर्व्यवहारबारे भिडियोसहित बुधबार मधेशी आयोगमा उजुरी दर्ता भएपछि त्यसलाई आवश्यक कारबाहीका लागि प्रहरी महानिरीक्षककाे सचिवालयमा पठाइएको थियो।

आयोगका अध्यक्ष दत्तले आईजीपीसँग कुरा गरेपछि असई झालाई महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जबाट बग्गीखानामा गरिएको काज सरुवा फिर्ता भएको आयोगले जनाएको छ।

असई झाको सरुवा गर्दा कसैको प्रभावमा त्यसो गरिएको पाइए कारबाही प्रक्रिया अघि बढ्ने नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले बताएका छन्।

‘विवादको विषयलाई लिएर कसैको दबाबमा कसैले सरुवा गरेको रहेछ भने त्यो छानबिन हुन्छ। त्यस्तो पाइयो भने सरुवा गर्ने प्रहरी अधिकारी कारबाहीको दायरामा ल्याइन्छ’, एसएसपी कुँवरले भने।

ज्वालाको समूह र प्रहरीबीच महाराजगञ्ज ट्राफिक प्रहरी वृत्तमा विवाद भएको थियो। त्यस क्रममा उनले प्रहरी सहायक निरिक्षक मणीकान्त झालाई सरुवा गराइदिने चेतावनी दिएकी थिइन्।

संग्रौलाले भने आफूले कुनै रंगभेदी टिप्पणी नगरेको र उक्त घटनामा गल्ती असई झाको नै रहेको बताएकी छिन्। उनले लेखेकी छन्, ‘जनताको लागि काम गर्नेले जनतालाई बिनाकारण दुख दिन्छ भने त्यो जोसुकै होस, त्यसको सरुवा-घटुवाको बकाइदा माग गरिन्छ। यसमा जातको कुरा कसरी आयो? मेरो मुखबाट निस्कएका एक-एक शब्दको जिम्मेवारी लिँदै जहाँ बोलाउने हो त्यहाँ आएर जवाफ दिनेछु।’

उनले आफूमाथि प्रहरीले मुख छाडेको दावी गरेकी छन् । आफूहरु मोटरसाइकलमा आउँदै गर्दा असइ झाले बाटोमा एक्कासी रोकेर ‘बिस्तारै कुदाउन सक्दैनस मासाले’ भन्दै झम्टिएको उनको भनाइ छ।

संग्रौलाले आफूलाई बदनाम गर्न सत्तापक्षीय पत्रकारहरु लागि परेको बताएकी छिन्। उनले पत्रकारहरुलाइ तह लगाउने पनि बताइन। उनले भनिन, ‘तर जब मैले नभनेको कुरामा मेरो नाम जोडिन्छ भने त्यस्ता झोले पत्रकारलाई तह लगाउन पनि मलाई आउछ!’

२०७८ असार ५, शनिबार १२:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय