
काठमाडौँ : २४ घण्टामा देशभर १ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ५८३ पीसीआर परीक्षणमा १ हजार ५८४ जनामा कोरोना पुष्टि भएको हो।
यसैगरी, ४ हजार ३२१ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ ।
यस्तै, २४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ ।