काठमाडौं : वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यका साथ तत्कालीन राजपा र समाजवादी पार्टी एक भई निर्माण भएको जनता समाजवादी पार्टी नेपाल एक वर्षभित्रै विभाजनको औपचारिकता मात्र बाँकी छ ।

मुद्दा र एजेण्डा एउटै भएपनि तत्कालीन दुवै दलका नेतृत्वहरुको विचार र कार्यशैलीमा एकरुपता देखिँदैन । जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर र दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव अहिले दुई विपरीत ध्रुवमा उभिएका छन् ।

अध्यक्षद्वय ठाकुर र यादव एकले अर्कालाई कारबाही गर्दै आएका छन् । आधिकारिकता दाबी गर्दै दोस्रो वरियताका अध्यक्ष यादवले निर्वाचन आयोग पुगेका छन् भने पहिलो वरियताका अध्यक्ष ठाकुरसँग पनि आयोगले जवाफ मागेको थियो ।

निर्वाचन आयोगले जसपामा सहमतिको लागि दुबै पक्षलाई असार २२ गते बोलाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सो दिन सहमति भए सोहीअनुसार हुने र सहमति नभए आयोगमा कसको दाबी पुग्छ भनी आफैँ सुनुवाई गर्ने प्रक्रियामा प्रवेश गर्नेछ ।

अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए कुन पक्षको दाबी पुग्छ भनी निर्णय गर्ने प्रक्रियामा प्रवेश गर्ने व्यवस्था छ ।

त्यसैले जसपा एकता कायम रहने कि नरहने अध्यक्षद्वय ठाकुर र यादवकै हातमा रहेको छ । नेता कार्यकर्ताहरुले जसरी पनि जसपाको एकता कायम राख्नुपर्ने माग गर्दै आएका छन् ।

२०७८ असार १६, बुधबार १४:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय