
काठमाडौँ : विवेकशिल साझा युवा संगठनले एमबीबीएस लगायत सबै प्रवेश परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क पीसीआर परीक्षण गरिदिनका लागि सरकारसंग माग गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले मंगलबार एकीकृत प्रवेश परिक्षामा विद्यार्थीले परिक्षाको ७२ घण्टा अघि पीसीआर परिक्षण गरेको हुनुपर्ने सुचनाप्रति संघको ध्यानाकर्षण भएको जनाउँदै संगठनका महासचिव सरोज गौतमले आज एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
आयोगद्वारा प्रकाशित सुचनाप्रति आपत्ति जनाउँदै गौतमले सो सुचनाले विद्यार्थी लगायत अभिभावकलाई तनाव बढाएको जनाएका छन् ।
एमबीबीएस लगायत चिकित्सा शिक्षाका विभिन्न विधाको प्रवेश परिक्षा अगाडी गर्नुपर्ने पीसीआर परिक्षण सरकारले निशुल्क गर्न माग राख्दै सङ्गठन विद्यार्थीहरुले प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरुलाई प्राथमिकताको साथ यथाशिघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत जोड दिएका छन् ।
‘एउटा विधार्थीले चार हजार रुपया दस्तुर तिरेर परिक्षा फारम भरी परिक्षा दिँदै गर्दा फेरी थप रकम तिरेर परिक्षा गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित छैन । सरकारी अस्पतालहरुमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजिमा रु दुइ हजार तिरेर पीसीआर परिक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार त हो नै साथै यो सुनौलो सपना देखिरहेका कलिला मस्तिष्कहरुमा सरकारको अवाञ्छित शोषण हो भन्ने हामीलाई लागेको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै, हुन लागिएको प्रवेश परिक्षा छात्रवृतिका निम्ति रहेको र यो परिक्षामा परीक्षार्थीहरुले दुइ तिन विषयसम्म पनि फारम भरेका हुने भएकाले प्रत्येक परिक्षाको ७२ घण्टा अघि पीसीआर परिक्षण विद्यार्थीलाई नै गर भन्नु अव्यवहारिक, गैरजिम्मेवार र असह्य रहेको संगठनको आरेप छ । आयोगको नेतृत्वको सामान्य विवेकले हल हुने विषय जटिलता तर्फ धकेल्नु न्यायाचित नभएको बताउँदै संगठनले यसलाई आयोगको अक्षम्य कदमको संज्ञा समेत दिएका छन् ।
संक्रमित विद्यार्थीलाई सहज यातायात र स्वस्थ क्वारेन्टाईनको व्यवस्था गर
यस्ते, परीक्षमा संलग्न हुन परीक्षार्थीले ७२ घण्टाअघि पीसीआर परीक्षण गराएको हुनुपर्ने आयोगको निर्णयको खण्डन गरेका उक्त संगठनले संक्रमित परीक्षार्थीका लागि सहज यातायात र स्वस्थ क्वारेन्टाईनको व्यवस्था गर्न समेत माग गरेका छन् ।
परीक्षाअघि विद्यार्थीमा हुने तनावको परिस्थितिलाई बुझ्दै आयोगले कुनै विद्यार्थीको पीसीआर पोजिटिभ आएको खण्डमा संक्रमित विद्यार्थीलाई परीक्षा केन्द्र सम्म पुग्न सहज यातायातको व्यवस्था गर्दै सम्बन्धित विद्यार्थीका निम्ति परिक्षा केन्द्र नजिक स्वस्थ र सहज आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्था समेत सरकारले नै गरिदिन् पर्ने माग राखेका हुन् ।
परीक्षा व्यवस्थापनको तनाव लिने विद्यार्थीले नभई आयोग र राज्यले लिनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, हामी आयोगलाई विद्यार्थी र अभिभावकको यो बाध्यता बुझेर विद्यार्थीका निम्ति नि:शुल्क पिसिआर परिक्षण, पीसीआर पोजिटिभ भएका विद्यार्थीका निम्ति परिक्षा केन्द्र नजिक आइसोलनका निम्ति व्यवस्था र सम्पूर्ण विद्यार्थीका निम्ति सहज र सुरक्षित वातावरणको प्रत्याभूति गराउन आयोग समक्ष जोडदार माग गर्दछौँ।’
यसका साथै, नयाँ शैक्षिक सत्रका कक्षाहरु शुरु हुन गइरहेको अवस्थामा मुलुकभरीका सम्पूर्ण विद्यार्थीहरु तथा शिक्षकहरुका निम्ति सरकारले छिटोभन्दा छिटो भ्याक्सिनको व्यवस्था गर्नुपर्ने संगठनको भनाई छ ।