जनकपुरधाम : धनुषामा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ ।
जिल्लाको बटेश्वर गाउँपालिका–२ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको आइतबार साँझ शंकास्पद मृत्यु भएको हो । आफ्नै घरको ओछ्यानमा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
उनले भने, ‘मृतकको घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ । शवको पोस्टमार्टम रिपोर्टपश्चात थप कुरा खुल्न सक्छ ।’
यता माइत पक्षले ससुरा पक्षले मिलेर आफ्नो छोरीको हत्या गरेको दावी गरेका छन् । अञ्जुले आत्महत्या नगरेको र घरपरिवारले नै मिलेर घाँटी थिचि उनको हत्या गरेको उनका बुबा महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुर बस्ने रामजत महतोको आरोप छ ।
अञ्जुको विवाह गएको फागुन २० गते सामाजिक परम्परा अनुसार रामवृक्षसँग भएको थियो । विवाहपछि ससुरा पक्षले यस्तो बुहारीले घरपरिवार नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ ।
घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।