महोत्तरी : महोत्तरीको लोहारपट्टी नगरपालिका–७ की सुजिता ठाकुरको हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय जलेश्वरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पक्राउ परेका ४ जना आरोपितलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहरपट्टी वडा नम्बर–७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डललाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मृतकको पति ३१ वर्षीय मुकेश ठाकुललाई पक्राउ गरेर अनुसन्धान गर्दा घटनामा उनको संलग्नता नदेखिएकाले थुनामुक्त गरि मृतक सुजिताको बुवा कामेश्वर पाण्डेको जिम्मा लगाइएको जानकारी दिए ।
उनले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनिले मृतकको शव ओसारपसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्याएकोले पक्राउ गरिएको र घटनाको अनुसन्धान अझै पनि जारी रहेको भन्दै छिट्टै यस घटना सम्बन्धमा विस्तृत जानकारी गराइने जानकारी दिए । उनले एक साता भित्र घटनाको अझै रहस्यहरु खुल्दै जाने बताए ।
गत जेठ २० गतेदेखी लोहारपट्टी नगरपालिका वडा नम्बर–७ भ्रमरपुरा बस्ने मुकेश ठाकुरको २७ वर्षीय श्रीमती सुजिता देवी ठाकुर आफ्नै घरबाट बेपत्ता भएको हुँदा खोज तलास गरी पाउँ भन्दै पिपरा गाउँपालिका वडा नम्बर–६ रतौली बस्ने सुजिताकी आमा सुनिता कुमारी पाण्डेले असार ६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएकी थिइन । उनकै निवेदनको आधारमा प्रहरी घटनाको अनुसन्धानमा जुटेको थियो ।
अनुसन्धानबाट खुलेका तथ्यहरु
आफ्नै घरबाट बेपत्ता भएकी सुजिता देवी ठाकुरलाई खोजतलाश गर्ने क्रममा सुजिताको ससुरा पतिराम ठाकुरको खेतमा उनकै घर परिवारको सदस्यले हत्या गरी खाल्डो खनी गाडेको हुनसक्ने भन्ने बिशेष सूचनाको आधारमा असार १३ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले पतिराम ठाकुरको घरदेखि करिव १ किलोमिटर दक्षिणमा रहेको धानको बिउ छरी उम्रिएको खेतको उत्तर–पूर्व कुनामा शंका लागी अन्दाजी ५ फिट लम्वाई र ३.५ फिट गहिरो खाल्टो खनी हेर्दा नुनजस्तो पदार्थ तथा माटो लागेको तन्ना र पर्दाको कपडा भेटिएको थियो ।
खाल्डो भित्र कुनै अंग नरही महिलाको कपालजस्तो देखिने चिजबस्तुको भाग समेत फेला परेको थियो । सो चिजबस्तु कानूनी रितपूर्वक मुचुल्का खडा गरी संकलन गरी थप परीक्षणको लागी केन्द्रीय प्रहरी बिधी विज्ञान प्रयोगशाला, काठमाण्डौ पठाईएको थियो ।
अनुसन्धानकै क्रममा सोधपुछ गर्दा खुल्न आएका जानकारीहरूलाई मध्यनजर गरी असार २६ गते राती करिव ११ बजे परिचालित प्रहरी टोलीले सोही बिहान करिव १ बजेको समयदेखि निरन्तर उत्खनन् गरी बेपत्ता भएकी सुजिता देवी ठाकुरको ससुरा पतिरामको घरदेखि अन्दाजी ५ सय मिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको काठको गोलियाहरु राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फ सबैभन्दा पछिल्लो भागमा निर्माणाधिन ९ फिटको गहिराई, १३ फिट ७ ईन्च लम्वाई र ५ फिट ९ ईन्च चौडाई भएको सेफ्टी ट्यांकीको भित्र पट्टि भुईंको भागमा करिव ६ ईन्च बाक्लो ढलान गरी सो भन्दा मुनि करिव ४ फिट गहिरो खाडल खनि जुटको बोरामा हाली गाडिएको अबस्थामा २७ गते बिहान करिव १० बजेको समयमा अर्ध सडिगलि गएको अवस्थामा सुजिताको शव फेला परेको थियो ।