महोत्तरी : साउने झरीबीच महोत्तरीका उत्तरवर्ती तीन स्थानीयतहमा हरित अभियान प्रारम्भ भएको छ । जिल्लाका गौशाला, भङ्गाहा र बर्दिबास नगरपालिका क्षेत्रमा तीन महिनाभित्र तीन लाख बिरुवा रोपिने लक्षसाथ हरित अभियान थालिएको हो ।

तीनवटै स्थानीयतहका नदीउकास, पर्ति र अन्य सार्वजनिक जग्गा छनौट गर्दै रोपणको काम थालिएको हो । पहिलोचरणमा एक हजार २०० बिघा यस्तो जग्गामा वृक्षारोपण कार्य सम्पन्न गरिने छ । अभियानमा स्थानीयतह, राजनीतिक दल, सामुदायिक संस्था र आम सर्वसाधारण सरिक छन् ।

वन, वातावरण र चुरे संरक्षणका लागि ‘हरित अभियान’ सहयोगी हुने यी क्षेत्रमा कार्यरत सामाजिक संस्था साुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । पछिल्ला तीन दिनभित्र यो अभियानअन्तर्गत १० हजारभन्दा बढी बिरुवा रोपिएका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । “स्थानीयतहले संरक्षणको जिम्मेवारीसहित बिरुवा माग गरेपछि हामीले उपलव्ध गराउँदै आएका छौं” डिभिजन प्रमुख विनोदकुमार सिंह भन्नुहुन्छ, “जिल्लाका उत्तरवर्ती तीन स्थानीयतहमा अभियानबारे बढेको उत्साह प्रशंसनीय छ ।”

हरित अभियान थालिनु अघि नै बर्दिबास नगरपालिकाले गत असार मसान्तभित्रै ३० हजार र साउन पहिलो सातामा पाँच हजार गरी ३५ हजार बिरुवा यसैपालि रोपी सकेको छ । “हामीले हेरालु प्रवन्धसहित रोपण अभियान थालेका हौं” नगरप्रमुख बिदुरकुमार कार्की भन्नुहुन्छ, “साउनभित्रै ५० हजारभन्दा बढी नयाँ बिरुवा बर्दिबास नगरक्षेत्रभित्र रोपिने छन् ।”

पछिल्लो अभियानमा फलफूलका बिरुवा बाक्लै रोपिएका छन् । आँप, लिच्ची, कटहर, अम्बा र मेवासहितका फलका बिरुवा संरक्षणमा बगर बगैंचाका किसानले जिम्मेवारी लिएका छन् । यसबाहेक तटवन्धको कान्ला , बगर र खोल्सीहरुमा माटो समात्ने प्रजातिका बाँस बाक्लै लगाइएको गौशालाका उपप्रमुख आशा लामा बताउनुहुन्छ ।

पछिल्लो पटक थालिएको हरित अभियानअन्तर्गत भङ्गाहा-५ को बडहरी नदी उकासक्षेत्र, बर्दिबास-६ र ७ को रातु खोला किनार र गौशाला-१० स्थित मराहा खोला किनारमा अहिले वृक्षारोपण भइरहेको छ । डिभिजन वन कार्यालय महोत्तरी, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र अन्य संघसंस्था पनि यो अभियानमा जोडिएका छन् । तीनवटा पालिकामा छुट्टाछुट्टै नगर स्तरिय हरित अभियान परिचालन समिति गठन गरिएको छ । अब रोपिएका बिरुवाको संरक्षण चासो बढाउन तीनवटै नगरपालिकामा गठित समितिबीच संयुक्त संयन्त्र बनाएर अनुगमन बढाइने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको सुदुर उत्तरका तीन स्थानीयतहले बढाएका पहलकदमीलाई जिल्लाव्यापि बनाउन आवश्यक रहेको वातावरणविद बताउँछन् । “सबै ठाउँमा सकारात्मक पहलकदमी बढाउन आवश्यक छ” वातावरण र चुरे विषयका ज्ञाता जिल्लाकै भङ्गाहा-७ का बासिन्दा डा. विजयकुमार सिंह भन्नुहुन्छ, “जिल्लाका मध्य र दक्षिणी भेगमा अभियान बढाउन स्थानीयतहले पहलकदमी लिउन् ।”

२०७८ श्रावण १५, शुक्रबार ०८:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय