जनकपुरधाम : लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा बुधवार मात्रै प्रदेशका विभिन्न तीन जिल्लाबाट ७ जना पक्राउ पर्यो । महोत्तरीबाट २, बाराबाट २ र सिरहाबाट ३ गरि ७ जनालाई प्रहरीले पक्राउ गर्यो । महोत्तरीको गौशालानगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले औरहीनगरपालिका–४ कठुधारस्थित सम्सी गौशाला सडक खण्डबाट पक्राउ गर्यो । महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थाननाईट्राभेट ट्याबलेट प्रहरीले बरामद गरेको छ ।

प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश बिष्टले जानकारी दिए । त्यसैगरि, बुधवार नै प्रहरीले बाराबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गर्यो ।

निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुरामवाइबाले पथलैयाबाट ना ४६ प ५९३१ नम्बरको मोटरसाइकलमा १५ किलो गाँजा लिएर जादै गर्दा उनीहरुलाई पक्राउ गरिएको थियो । पिठ्युँमा बोक्ने झोलामा गाँजा लिएर जादै गर्दा प्रहरीले शंका लागेपछि चेकजाँच गर्दा उनीहरु पक्राउ परेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

lagu_osadh_nepalvani1

त्यसैगरि, सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई बुधवार नै पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर ५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेका छन् । उनीहरुलाई लहान नगरपालिका ५ बाट ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । त्यसैगरि, १ भदौमा पनि धनुषा प्रहरीले १ सय २० किलो गाँजासहित एक युवालाई पक्राउ गरेको थियो । जनकपुरधामको मुरलीचोकबाट प्रहरी गाडीहरुलाई चेकजाँच गर्ने क्रममा हेटौडा उपमहनगरपालिका– १९ बस्ने ३२ वर्षीय बहादुर ब्लोनलाई गाँजासहित पक्राउ गरिएको छ ।

ब्लोनले बा ५ च १४० नम्बरको पिकअप गाडीमा पानीको टंयाकी भित्र प्लास्टीकमा बेरिएर राखेको अवस्थामा प्रहरीले १ सय २० किलो गाँजा बरामद गरेको छ । यसरी, प्रदेश २ का जिल्लाहरुबाट प्रायः दिनहुँ लागूऔषध कारोवारी तथा सेवनकर्ताहरु पक्राउ परिरहेको छ । प्रदेश २ का प्रदेश प्रहरी प्रमुख कार्यालयका अनुसार गत आर्थिक वर्ष ९ सय ९९ जनालाई लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ । चालु आर्थिक वर्षको भदौको पहिलो सप्ताह सम्ममा ९७ जनालाई लागूऔषध कारोबारमा पक्राउ गरियो छ । माथिका तथ्याङकलाई केलाउदाँ प्रदेश २ लागूऔषधको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ ।

भारतसँगको खुल्ला सिमानाको कारण प्रदेश २ मा लागूऔषधको कारोवार फष्टाएको जानकारहरुको भनाई छ । लागूऔषध कारोवाहरीहरुले खुल्ला सिमानाको फाईदा उठाउदै सहज रुपमा गाँजा, अफिम, चरेश लगायतका प्रतिबन्धित समानहरु भारत पठाउने गरेको छ । प्रहरी तथ्यांक अनुसार गाँजा, अफिम र चरेश देशभित्रै उत्पादन हुने गरेको छ ।

हेरोइन, कोकिन तथा बिभिन्न ट्याब्लेटस र कोरेक्स बोतलहरु भने भारत लगायतका मुलुकबाट नेपाल आउने गरेको छ । खुला सिमानाको साथै युवाहरुमा बढ्दो बेरोजगारी, कोरोनाका कारण विद्यालय तथा क्याम्पसहरु बन्द हुदाँ युवाहरुको आकर्षण लागूऔषधतर्फ बढेको जानकारहरुको भनाई छ ।

बिचौलियाहरु पक्राउ परेपनि मुख्य कारोवारी पक्राउ नपर्दा लागूऔषधको ओसारपसार वृद्धि भईरहेको जिल्लाप्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मनोज कुमार बस्नेतले बताए । उनले प्रहरीले लागूऔषध विरुद्ध सक्रिय भएकोले कारोवारीहरु धामधम पक्राउ परिरहेको दावी गरे ।

२०७८ भाद्र ११, शुक्रबार ०८:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय