जनकपुरधाम : निरन्तरको वर्षाले प्रदेश २ का जिल्लाहरुमा गएको बाढीले सयौ घर डुबानमा परेको छ । महोत्तरीमा रातो खोलाको तटबन्ध भत्किंदा बलवा नगरपालिकाको सयौ घर डुबानमा परेको छ । रौजाबजार नजिकै तटबन्ध भत्किदा बलवा नगरपालिका वडा नम्बर ४ तिलगढ गाउँ डुबानमा परेको छ । रौजाबजारस्थित १२ घर धुरी घरबार बिहीन बनेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

डुबान क्षेत्रमा कुनै मानवीय क्षति नभए पनि बाढीको जोखिममा परेकाहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । तर पानीको बहाव नघटे सम्म समस्या समाधान गर्न नसकिने न्यौपानेले बताए । जस्ता पाताको तटबन्ध मरम्मत गर्ने धेरथोर सामग्री रहेपनि पानीको बहावलाई थेग्न नसक्ने भन्दै तत्काल जोखिममा रहेकालाई सुरक्षित ठाउँमा सर्न आग्रह गर्ने बाहेकको विकल्प नरहेको उनले बताए । यथोचित स्रोत साधनको अभाव रहेको उल्लेख गर्दै उनले भने—ॅजिल्लास्थित द्वैविक प्रकोप उद्धार समितिको लागि बजेट अहिलेसम्म पारित भएको छैन ।’ बजेट नहुँदा व्यवस्थापनमा समस्या आउनु स्वभाविक हो ।

तत्काल उद्धार कार्यको निम्ति सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सुरक्षा संयन्त्रको परिचालन गरिएपनि तटबन्ध मरम्मत गर्ने प्रयास भइरहेको न्यौपानेले प्रष्टाए । केही दिनदेखिको निरन्तर वर्षाले शुक्रबार अचानक रातो खोलामा बाढि आउँदा तटबन्ध भत्किएको हो । निरनतरको वर्षाले गाउँ गाउँ डुबानमा परेको सामुदायिक पैरवी मञ्चका प्रमुख नागदेव यादवले बताए । बिहान ६ बजे प्रमुख जिल्ला अधिकारी , जनताको तटबन्ध फिल्ड कार्यालय महोत्तरीका प्रमुख शुशिल चौधरी लगायतका सरोकारवालाहरुलाई पानीको बहाव बारे जानकारी गराएको यादवले जानकारी दिए । शुक्रबार बिहान पानीको बहाव बर्दिवास जनकपुरधाम सडकखण्डमा एक फिट माथि सम्म देखिएको थियो ।

दिउँसो वर्षात रोकिएर घाम लागेपछि पानीको सतह घटे पनि वर्षा को सम्भावना कायमै रहेकोले गाउँ वस्ती डुबानमा पर्ने जोखिम रहेको यादवले उल्लेख गरे । यादवले स्थानीय निकायहरुले आ— आप्mनो गाउँ टोल सुरक्षित गर्ने भन्ने तर्फ गंभिर हुनु अहिलेको आवश्यकता रहेको औँल्याए । भंगहा , भगवतीपुर , धमौरा , हथिसर्वा लगायतको गाउँ समेत रातो खोलाको बाढीले जोखिममा रहेकोले पैरवी मंचको अगुवाईमा भईरहेको चुरे संरक्षण अभियानले अन्य वर्षको तुलनामा यस वर्ष थोरै क्षति गरेको दावी समेत यादवले गरे ।

उनले भने—‘तीन/चार वर्ष पुर्वको अवस्थालाई अध्ययन गर्ने हो भने प्रत्येक वर्ष बाढीको बेला जनधनको क्षति हुने गरेको छ । तर पछिल्लो चार वर्ष यतादेखि जलेश्वर नगरपालिका लगायतको आसपासको क्षेत्रमा मानवीय क्षति नुहुनुले विस्तारै सुधार आउँदै गएको छ , त्यसैले बाढी आउँदा आत्तिने होईन बरु सुरक्षित स्थानमा सर्नुपर्छ । ’ यता तटबन्ध कार्यालयका प्रमुख चौधरीसंग भेटन जाँदा उनी जनकपुरधाम स्थित आप्mनो निवासमै बसेर फिल्डको काम गरिरहेको बताए ।

यता, केही दिनदेखि परिरहेको झरीका कारण सर्लाहीका तरकारी किसान चिन्तित बनेका छन् । केही दिनदेखि परिरहेको निरन्तर झरीका कारण डुबानमा परेर तरकारी कुहिएर तरकारी बालीमा क्षति पुगिरहेको किसानहरुको गुनासो छ । लौका, काक्रो, खुर्सानी, झिङनी लगायतका तरकारी बालीमा झरीले क्षति पुर्‍याएको हो । लालबन्दी नगरपालिका-१०, चन्द्रपुरका किसान उदय पाख्रिनले धेरै दिनदेखि पानीमा डुबेकाले तरकारीको बोटहरु मर्न थालेका बताएका छन् ।

जिल्लामा पत्थरकोट, हीरापुर, रानिगन्ज, सासापुर, अत्रौली, नवलपुर, चन्द्रनगर, बरहथवा लगायत क्षेत्रका किसानले लगाएको तरकारी बालीमा वर्षाले क्षति गरेको हो । यस वर्ष अत्यधिक झरी परेर तरकारी बालीमा पटक-पटक नोक्सान पुर्‍याइरहेको किसानहरुले गुनासो गरेका छन् । साथैँ निरन्तर परिरहेको झरीकै कारण सर्लाहीका किसानले गोलभेँडाको बीउ समेत राख्न पाएका छैनन् ।

निरन्तर पानी परेकाले गोलभेँडाको बीउ राख्न ढिलो भएको हरिवन नगरपालिका-२, अत्रौलीका किसान नानीबाबु राउतले बताए । यस्तै, सर्लाहीका बजारमा झरीले गर्दा तरकारीको उत्पादन घटेपछि हरियो तरकारीको मूल्य भने बढेको छ । उत्पादन घटेको समयमा मूल्य बढ्दा किसानलाई केही राहत मिलेपनि उपभोक्ता भने महँगीको मारमा परेका छन् । बजारमा अहिले ताजा हरियो तरकारी कम भित्रिरहेको लालबन्दी थोक तरकारी बजारका व्यापारी निशा लामाले जानकारी दिईन् ।


२०७८ भाद्र १२, शनिबार ०८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय