महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
जिल्ला निर्वाचन आयोगको कार्यालय जलेश्वर पुगेर मेयरद्वय मिश्र र साहले लोसपाको पक्षमा सनाखत गरेका हुन् । मेयर मिश्र र साह तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।
भदौ ९ गते निर्वाचन आयोगबाट लोसपाले विभाजित दलको मान्यता पाएको थियो। आयोगले नयाँ दल रोज्न चाहने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्मको समय दिएको छ।
नयाँ दल रोज्न आयोगले गरेको निर्णयअनुसार मंगलबार प्रदेश २ का अधिकांश जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराइरहेका छन्।मंगलबार र बुधबारभित्र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत भइसकेपछि विहीबारदेखि प्रदेशसभा सदस्यहरूले दल रोज्न सनाखत गराउने तयारी रहेको लोसपाका एक नेताले जानकारी दिए।
प्रदेश २ मा जसपाका ५५ जना प्रदेशसभा सदस्यमध्ये पूर्वराजपाका २५ जना छन्। तर, पछिल्लो समय जसपामा विवाद सुरू भएपछि पूर्वराजपाका ९ प्रदेशसभा सदस्य अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागेका थिए। निर्वाचन आयोगले नयाँ दल रोज्न अवसर दिएपछि उपेन्द्र पक्षमा गएकामध्ये केही प्रदेश सांसदहरू लोसपमा फर्किने एक नेताले बताए।