जनकपुरधाम : प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदहरुले प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा सनाखत गरेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरसँगको छलफलपछि बुधबार १० जना प्रदेश सांसदले सनाखत गरेका हुन् ।

सनाखत गर्ने जसपाका सांसदहरुमा परमेश्वर साह, जयनुल राइन, गौरी नरायण साह, सुरिता साह, निलम भूमिहारनि, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी र जानकी शरण साह रहेका छन् ।

निर्वाचन कार्यालय पुगेका प्रदेश सांसदहरु जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्माले भने सनाखत गराएनन् । बाँकी प्रदेश सांसदहरुलाई ल्याएर सँगै तीनै जनाले सनाखत गर्ने लोसपा कार्यकारिणी सदस्य एवम् प्रदेश सांसद जितेन्द्र सोनलले जानकारी दिए । उनका अनुसार प्रदेश सांसद रानी शर्मा जनकपुर आउन नसकेका कारण निर्वाचन कार्यालय पुगेर पनि सनाखत नगरेका हुन् ।

सांसदहरुलाई लिएर कार्यकारिणी सदस्य सोनल निर्वाचन कार्यालय पुगेका थिए । अन्य सांसद बिहीबार र शुक्रबार सनाखतका लागि निर्वाचन कार्यालय जाने उनले बताए । ‘जनता समाजवादी पार्टीबाट राम्रै संख्यामा साथीहरु लोसपामा आउने छन्,’ सोनलले भने, ‘स्थानीय तह र प्रदेशसभाका जनप्रतिनिधिले सनाखत गरेपछि लोसपा मुलुकमा वैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने छन् ।’

लोसपामा जसपाका १४ जना सांसद खुलेका छन् । एक नेताका अनुसार जसपाका ५४ सांसदमध्ये १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको र थप ४ जनालाई आफ्नो पक्षमा सनाखत गराउन प्रयास भइरहेको छ ।

२०७८ भाद्र १६, बुधबार १७:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय