धनवीर महतो, 

महोत्तरी : समाचार सम्प्रेषण गरिएको भन्दै एजेन्टले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् । सर्लाही धनकौल ४ घर भएका कुन्दन कुमार मिश्रा (राजन) ले महोत्तरीको गौशालामा संचालित रेडियो रुपान्तरणका पत्रकार नागेन्द्र साहलाई मोवाईल फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन ।

एजेन्ट मिश्राले शुरुमा पत्रकार साहलाई फोन गरि समाचार किन, कसलाई साधेर लेखियो भन्दै थर्काएका थिए । त्यसपछि एकाएक तिम्रो रेडियोको हरेक कर्मचारीलाई धिसारेर मार्छु भन्दै आफु लगायतका आफ्ना रेडियोकर्मीलाई समेत ज्यानमार्ने धम्की दिएको अध्यक्ष साहले बताए । कुराकानीको अन्त्यमा गत असारमा टिफर दुर्घटनामा मृत्यु भएका महोत्तरीका एक रेडियोकर्मीलाई आफुले नै हत्या गरेको टेलिफोनमार्फत खुलासा गर्दै एजेन्टले फोन काटेका थिए ।

विदेश पठाईदिन्छु भन्दै महोत्तरीका ११ जनासँग एजेन्ट मिश्राले चौध लाख तीस हजार रकम लिएर फरार भएका थिए । गौशाला नगरपालिकाका ३१ बर्षिय छठु राय यादव, वर्ष ४० को सोलीन्दर सहनी, वर्ष ३४ को सिकिन्द्र सहनी, वर्ष ३५ को सुरेन्द्र महरा, वर्ष २५ को अनिल महतो, वर्ष १९ को सुनिल महतो, वर्ष १९ को रामकिशोर मुखिया रहेका छन् । त्यसै गरी औरही नगरपालिका कञ्चनपुर वस्ने वर्ष ३५ को सिरिया महतो, वर्ष ४० को शिवशंकर महतो, वर्ष ३० को बद्रि मुखिया र वर्ष २० को कारी मुखिया अहिले अलपत्र अवस्थामा रहेका छन् ।

गौशाला नगरपालिकास्थित एक ईट्टा भठ्ठामा दैनिकी ज्यालादारी गर्दै आएको समयमा उनीहरुको भेट एजेन्ट कुन्दन कुमार मिश्रसँग भएको थियो । एस आर मेनपावर काठमाण्डौबाट उनीहरुलाई दुवईमा मजदुरको काममा पठाईदिने भन्दै उनीहरुको एजेन्टसँग सहमति भएको थियो । प्रति महिना एक लाख असी हजारको दरले पारिश्रमीक पाउने सहमति अनुसार पैसा र पासपोर्ट मिश्रलाई जिम्मा लगाईएको गौशालाका सोलीन्द्र सहनीले बताए । पासपोर्ट लिएको छ महिना पछि मिश्राले तपाईहरुको भिसा आएको जानकारी दिएपछि पैसा बुझाईएको सहनीले जानकारी दिए ।

कोही खेत बेचेर त कोही साहुमहाजनसंग सयकडाको ३ रुपैयाँका दरले ब्याजमा पैसा उठाई मिश्रालाई प्रतिव्यक्ति एकलाख तीस हजार बुझाईएको उनीहरुको भनाई रहेको छ । गत फागुन २४ गते उडानका लागि काठमाण्डौ पुगेका उनीहरु १२ दिनसम्म काठमाण्डौमा अलपत्र अवस्थामा रहेका थिए । वद्री मुखियाले अगाडि भने–‘एकाएक एजेन्ट मिश्रा आफुहरुसँग सम्पर्क तोडेयो । त्यसपछि आफुहरु काठमाण्डौको गौशालामा रहेको प्रहरी चौकीमा मिश्रा विरुद्ध निवेदन दिएका थिए । त्यसपछि मिश्रा फरार भएको खवर आफुहरु पाएका थियौ । त्यसपछि हामी निराश भई काठमाण्डौबाट आ–आफ्नो घर आएका थियौ ।’

आठ महिना वित्दा समेत एजेन्ट मिश्राको बारेमा कहि कतैबाट पत्तो लागेको छैन । यता साहुमहाजनले आफुहरुसँग पैसाको ताकेता गर्दै आएका छन । यता उनीहरुको घरपरिवार विचल्लीमा परेको छ ।
गौशाला नगरपालिकामा रहेको वैदेशिक स्वरोजगार कार्यालयमा यहि साउन १२ गते मिश्रा विरुद्ध उनीहरु निवेदन दिएका थिए । त्यसपछि गौशाला ईलाका प्रहरी कार्यालयमा भदौ १९ गते उनीहरु निवेदन दिएका थिए ।

घटनाको सम्बन्धमा सत्यतथ्य बुझने प्रयासमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

२०७८ भाद्र २५, शुक्रबार १७:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय