जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा) को प्रदेश २ कमिटीमा व्यापक हेरफेर हुने संकेत देखिएको छ ।

पार्टी समायोजनको क्रममा प्रदेश २ कमिटीमा परिवर्तन गर्न थालिएको छ । प्रदेश कमिटीको आईतवार जनकपुरधाममा बैठक राखिएको छ ।राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायत वरिष्ठ नेताहरुको समेत सहभागिता रहने प्रदेश कमिटी बैठकमा पदाधिकारीहरु थपघट हुन सक्ने उच्च स्रोतले जनाए ।

प्रदेश २ मा तत्कालिन समाजवादी पार्टीको निर्वाचित कार्यसमिति नै हाल जसपाको प्रादेशिक कमिटीमा रुपान्तरित भएको छ ।प्रदेश कमिटीका अध्यक्ष विजय कुमार यादव निर्वाचनबाट चुनिएका हुन् ।तर समायोजनमा नयाँ मानिसहरु समेत थपिने भएकाले केहि पदाधिकारीहरु बिस्थापित हुन सक्ने स्रोतले जनाए । जसपाले पार्टीमा पूर्णकालिक पदाधिकारी राख्ने तयारी गरेको छ ।

संगठन सुदृढ बनाउन पार्टीका पदाधिकारीलाई सरकारको लाभकारी पदमा नराख्ने स्रोतले जनाए ।‘सरकारको लाभकारी पदमा रहने नेताले संगठन सुदृढिकरणमा पूर्ण समय दिन समस्या हुने गरेको छ ’स्रोतले भने, संगठन र सरकारमा फरक फरक व्यक्ति रहेपनि सरकार भने पार्टीको नियन्त्रणमा रहनेछ । जसपाले ‘एक व्यक्ति एक पद’ को नीतिलाई कार्यान्वयन गर्ने बताएपनि केन्द्रिय तहमा नै समस्या देखिएकोले अन्य निकायमा तत्काल कार्यान्वयन हुन कठिन रहेको देखिन्छ ।

स्रोतका अनुसार प्रदेश सरकारको कारण संगठन सुदृढ बन्न नसकेको आवाज उठनेछ ।प्रदेशका मुख्यमन्त्री रहेका मोहम्मद लालबाबु राउतको कारण मुसलमान समुदाय संगठनसित आबद्ध हुन चाहेको र मुख्यन्यायधिवक्ता दिपेन्द्र झाको कारण ब्राम्हण समुदाय पार्टीाबट टाढिएको गंभीर विषय बैठकमा उठने स्रोतले जनाए । प्रदेशमा कर्मचारी नटिक्नुको कारणपनि झालाई मानिएको छ ।कर्मचारीलाई अनावश्यक दवाव दिने र उनको निर्देशन नमान्दा मुख्यमन्त्री राउतले गाली समेत गर्ने कर्मचारीहरुको दुखेसोपनि बैठकमा सुनाइने बताइएको छ ।

राष्ट्रिय अध्यक्ष यादव समेतको उपस्थितिमा हुने सो बैठकमा मुसलमान, ब्राम्हण लगायतका जातिहरु जुड्न नचाहने कारण खोजिनु पर्ने समेत औल्याइनेछ ।पदमा रहेका मुसलमान र ब्राम्हण बाहेकको संख्या पार्टीमा न्युन छ ।जसपामा मुख्यमन्त्री समेत मुसलमान सभासदको संख्या ५ छ ।प्रदेश सरकारको राजनीति पदमा मुख्यन्यायधिवक्ता झा, नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा, लोकसेवा आयोगका सदस्य महारुद्र झा सहित एकजना करारका कर्मचारी बाहेक अन्य ब्राम्हण पार्टीमा छैनन् ।

जसपामा दलित, आदीवासी, जनजाती, खसआर्यको संख्या उत्साहजनक रहेको छ ।सरकार र प्रदेश कमिटीमा रहेका सबैको स्वतन्त्र मुल्यांकन हुनुपर्ने र कार्यक्षमता कमजोर भएकालाई विस्थापन गरिनुपर्ने आवाज बैठकमा उठ्ने बताइएको छ । बैठकमा मुख्यमन्त्रीका निजी सचिवालयमा रहेका कर्मचारीहरुको व्यवहारबारेपनि सदस्यहरुले टिप्पणी गर्न सक्ने संभावना रहेको छ ।

तर स्रोतका अनुसार प्रदेश सरकारको बढी आलोचना हुने संभावना देखिए बैठक समायोजन प्रकृयामा नै सिमित हुन सक्ने संभावनापनि ब्यापक छ ‘। प्रदेश कमिटीका मुख्य सचिव शम्भु झाका अनुसार पूर्व राष्ट्रिय जनता पार्टी(राजपा)बाट आएका नेताहरुको समायोजन गरिने छ ।तर त्यस अघि पूर्व समाजवादीको प्रदेश कमिटीमापनि थपघट हुने उनले बताए । प्रदेश कमिटीको समायोजन बैठकपछि ११ गते महोत्तरी जिल्लाको जलेश्वरमा जितिया समारोह आयोजना गरिएको छ ।

१२ गते केन्द्रिय कमिटीकोपनि बैठक राखिएको छ ।प्रदेश २ मा स्थायी बसोबास भएका केन्द्रिय कमिटीका १ सय ५० जना सदस्यको बैठक मंगलवार हुने मुख्यसचिव झाले जनाए ।केन्द्रिय कमिटी बैठकमापनि पूर्व राजपाका सदस्यहरुको समायोजन हुने उनले जनाए । प्रदेश २ मा जसपा अन्य सबै दलहरु भन्दा हाल बलियो छ ।

प्रदेशमा ३९ जना सभासद छन् ।संघीय र पालिकामापनि कसिलो पकड छ ।प्रदेश सरकारकोपनि नेतृत्व जसपाकै छ ।यस अघि नयाँशक्तिसित समायोजन भएको थियो । संघीय सरकारमा जान तयारी अवस्थामा रहेको जसपाले संगठनलाई नै प्राथमिकतामा रहेको नेताहरुले बताएका छन् ।स्रोतहरुका अनुसार प्रदेश कमिटीको अध्यक्षका लागि हरिनारायण यादव, ब्रजकिसोर यादव लगायतले चाहना राखेका छन् ।तर प्रदेश अध्यक्ष विजय यादवले नै निरन्तरता पाउनेमा नेतृत्व सहमत छ ।

प्रदेश सरकारमा नेपाली काँग्रेस र माओवादी केन्द्र सहभागि भएपछि सरकार दुई तिहाई बहुमतमा पुगेको छ ।सरकारलाई नेकपा एकिकृत समाजवादीकोपनि समर्थन रहेको छ ।तर मुख्यमन्त्रीमा नेतृत्वको क्षमता कमजोर रहेको आरोप लगाउँदै उनका आलोचकहरुले प्रदेशमा संगठन सुदृढ हुन नसक्नुमा राउत नै दोषी रहेको बताउँछन् । file photo

२०७८ आश्विन ९, शनिबार ०६:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय