Janakpur_Jhijiya_झिझिया

जनकपुरधाम : दशैँ सुरु भएसँगै मिथिलाञ्चलका घरआँगनमा झिझियाको विशेष रौनक छाएको छ । जनकपुरधामका मठमन्दिर र दशैँका लागि बनाइएका पण्डालमा साँझमा महिलाले झिझिया नृत्य गर्ने गरेका छन् ।

तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो
बरहम बाबा झिझिया पर होइयौ ने सवार
अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ । दशैँका वेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्र अनुष्ठान गरी मारक शक्ति प्राप्त गर्छन् । यस्तो शक्तिको प्रतिवाद गर्न तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिएको जनविश्वास छ ।​

घटस्थापनादेखि सुरु हुने झिझिया नृत्यको तयारी पनि विशेष हुन्छ । झिझिया नृत्य सुरु गर्न पूर्वतयारी गर्नुपर्छ ।एउटा वा दुइटा घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ ।

नृत्य गर्नुपूर्व झिझियालाई दक्ष ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ –
‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी
बजर बान्हो दशो दुआरी
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।’

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर हातको सहारा नलिई नाच्दै ब्रह्मस्थानमा पुगी पूजा गरेर नाच्छन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा छ ।​

झिझियामा रहेका प्वाल तन्त्रमन्त्र गर्नेले गन्न सफल भए उनीहरू तन्त्र सिद्ध गरी निकै शक्तिशाली हुन सक्ने कथन छ । त्यसैले प्वाल गन्न नसकून् भनी झिझियाका टाउकोमा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्नेबित्तिकै दियो निभाएर झिझिया राखिन्छ। महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा लिइन्छ । झिझिया नृत्य घटस्थापनादेखि सुरु भई दशैँसम्म प्रदर्शन गरिन्छ ।

Janakpur_Jhijiya_झिझिया

गाउँघरमा झिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् । घरघरमा गई सामूहिक नृत्य गर्ने र घरधनीले कोसेली स्वरूप पैसा वा चामलदाल सहयोग दिने चलन छ । सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षा तथा संस्कृतिविद् रमापति चौधरी बताउँछन् । ‘यो मिथिलाको लोक महत्वको नृत्य हो । त्यसैले यसलाई अन्धविश्वासका रूपमा लिनुहुँदैन’, उनले भने ।

यो नृत्य सातौँ शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ । दशैँको आगमनसँगै दुष्ट शक्तिलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो ।

नृत्यसँगै गाइने गीतमा गाली पनि गरिन्छ। गाली गरियो भने दुष्ट शक्तिको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुने विश्वास छ। झिझियाको लोक सांस्कृतिक पक्षलाई संरक्षण संवर्धन गर्नु उचित देखिन्छ। यो नृत्यमा दुष्ट शक्तिलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ ।
चलचल गे डैनिया कदम तर,
तोरा बेटाके खैबौ बढमतर ।

विजया दशमीको आगमनसँगै मिथिलाञ्चलको गाउँटोलमा झिझिया नृत्य सुरु हुन्छ । मिथिला कला संस्कृतिमा यो नाचको विशेषता भइ पनि हाल यसको मौलिकता हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन् । झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ ।

केही संघ संस्था झिझिया संरक्षण गर्ने अभियानमा लागेका छन्। मिथिला नाट्य कला परिषद् (मिनाप)ले नेपाल र भारतका विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझिया प्रस्तुत गरिन्छ । मिनापले केही वर्षयता झिझियाका ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ।

जनकपुरकै देवीचोकस्थित राजदेवी युवा क्लबले दशैँका वेला झिझिया नृत्य प्रतियोगिता आयोजना गर्छ । दशैँका वेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ ।

२०७८ आश्विन २६, मंगलवार १२:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय