File Photo

 राजविराज :  पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा आज मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका-६ रौतहट बस्ने ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डललाई विराटनगरस्थित न्युरो अस्पतालमा भर्नाका लागि पठाइए पनि आज दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मण्डल आफ्नो घरबाट सप्तरीको वीरेन्द्र बजारदेखि उत्तर चुरेजङ्गलमा अवस्थित शनि मन्दिरमा आज पूजा गर्न जाने क्रममा दुर्घटनामा परेको उनकै छिमेकी धिरज झाले जानकारी दिनुभयो ।

त्यस्तै मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय अमरनाथ यादवको पनि दुर्घटनामा परी गम्भीर अवस्था रहेको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स२प ३३३३ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना५ख ९००० नंको बसले पछाडिबाट मोटरसाइकललाई ठोकिएको थियो ।

यता बस चालक चितवन मारी नगरपालिका बस्ने ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७८ आश्विन ३०, शनिबार १७:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय