
कपिलवस्तु : ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४ सय ९६ औं जन्मदिनको अवसरमा कपिलवस्तु सदरमुकाम तौलिहवामा मुस्लिम धर्मावलम्वीहरुले रैली तथा जुलुश प्रदर्शन गरेका छन् । गाउं गाउंका मस्जिद, मदरसा, मुस्लिम संघ संगठन र मुस्लिम अगुवाहरुको ठुलो संख्यामा निस्केको जुलुशले जिल्ला सदरमुकाम तौलिहवा परिक्रमा गरी धार्मिक सभा सम्पन्न गरिएको छ ।
मुलुक धर्मनिरपेक्ष भई सक्दा पनि राज्य पक्षबाट अल्पसंख्यक मुस्लिम समुदाय माथि ठुलो विभेद गरिएको मुस्लिम युवाहरुले आरोप लगाएका छन् । सरकारले पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसरमा सार्वजनिक विदा नदिईएको भन्दै स्थानीय मुस्लिम युवाहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी सरकार विरुद्ध नारा जुलुश गर्दै सार्वजनिक विदाको माग गरेका थिए । ईस्लाम धर्मावलम्वीहरुले पैगम्बर हजरत मोहम्मदको जन्मदिन आफुहरुको ठुलो धार्मिक पवित्र दिन भएका कारण सो दिन सार्वजनिक विदा दिनु पर्ने तौलिहवाका मुस्लिम अगुवा युवा हाजी नईम मोहम्मदले बताए ।
हजरत मोहम्मदको जन्म हिजरी सम्बतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदी अरेवियाको मक्का शहरमा भएको थियो । पैगम्बर हजरत मोहम्मद ईस्लाम धर्मका अन्तिम सन्देशकर्ता समेत मानिन्छन् । ईद, बकरिद जस्ता आफ्ना पवित्र चाड पर्वहरु भन्दा समेत मोहम्मद डे आफुहरुका लागि पवित्र र ठुलो पर्व रहेको स्थानीय मुस्लिम अगुवा रउफ अहमद खांले बताए । यस दिन सरकारले सार्वजनिक विदा दिएर अल्पसंख्यक मुस्लिम समुदायलाई पनि राज्यको मुल प्रवाहमा लैजान मुस्लिम अगुवा खांले माग गरेका छन् ।
सो अवसरमा नेपाली कांग्रेसका नेता वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेयले मुस्लिम अगुवा तथा कार्यक्रममा सहभागी मुस्लिम धर्मगुरुहरुसंग भेटभाट गरी शुभकामना व्यक्त गरेका छन् । यसै गरी नेपाली कांग्रेसका युवा नेता मुख्तार अहमद खां, कपिलवस्तु नगरपालिका वडा नं. २ का अध्यक्ष राज भजन कलवार, नेपाली कांग्रेसका नगर सभापति खुर्सेद अहमद खां, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, उपाध्यक्ष मोहम्मद जाहिद खां लगायतले दिवसको अवसरमा सवैमा शुभकामना व्यक्त गरेका छन् ।
मोहम्मदको जन्मदिनको अवसरमा ईस्लाम धर्मावलम्बीहरुले विभिन्न नाअत शरिफ प्रवचन, पैगम्बर मोहम्मदको जीवनी वाचन गर्ने, उनका उपदेश र वाणीको स्मरण गर्ने गरेका छन् ।