
विनय यादव,
सिरहा : मधेशको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल गत असारमा निर्माणको अन्तिम चरणमा आएर भत्कियो । पुल भत्कीएपछि निर्माण कम्पनीले चाँडै पुल पुनर्निमाणको काम थालनी गर्ने बताएको थियो । पुल भत्कीएको झण्डै ५ महिना बितिसकेको छ । तर, पुल पुनर्निमाणको भने कुनै टुंगो छैन ।
कमला नदीमा पुल निर्माणका लागि २०६८ जेठ ३१ मै पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो । उक्त कन्स्ट्रक्सनसँग ४ सय ६९ मिटर लम्बाई र ९ मिटर चौडाइको यो पुल बनाउनका लागि २४ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो । तर, उसले पटकपटक म्याद थप गराएर ७ वर्षसम्ममा पनि ३० प्रतिशत जति मात्रै काम गरे ।
पुल निर्माणले गति नलिएपछि पत्रकार तथा लेखक रामरिझन यादव नेतृत्वको हुलाकी सडक संघर्ष समितिले २०७५ पुषमा पुल निर्माणको माग गर्दै अनिश्चितकालीन रिले अनशन थाल्यो । संघर्ष समितिको आन्दोलनपछि दबाबमा आएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले पप्पुलाई हटाएर लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दियो ।
लुम्बिनी बिल्डर्सले बल्ल पुलको निर्माण सम्पन्न गर्दै थियो । उसका अनुसार, पुलको ९९ प्रतिशत काम भइसकेको थियो । केहि दिनभित्रै पुल हस्तान्तरण गरिने तयारी थियो । यस भेगको जनताका वर्षौंदेखिको प्रतीक्षाको घडी अन्त्य र सपना साकार हुँदै थियो । तर, त्यो सपना उडायो सपना हुरीले झैँ भइदियो । कमला नदीमा आएको बाढीले असार १७ मा सिरहा तर्फको दोस्रो पाया भात्काइदियो । हेर्दाहेर्दै स्ल्याब पनि नदीमा खस्यो । पुल सञ्चालनमा आउनै लागेपछि उत्साहित भएका यस भेगका जनताको खुशी क्षणभरमै खोसियो । उनीहरुमा थप निराशा छायो ।
सञ्चालनमा नआउँदै पुल भत्किएपछि कमसल काम र अनियमितता भएको भन्दै संघर्ष समितिलगायत स्थानीयहरुले सिरहाका विभिन्न स्थानमा प्रदर्शन गरे । प्रदेश २ का तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी, हुलाकी सडक आयोजनाका पदाधिकारीलगायत प्राविधिकले अवलोकन पनि गरे ।
प्राविधिक टोलीको निष्कर्षका आधारमा पुल निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्सले नै पुलको पुनर्निमाण गर्ने बताइएको थियो । तर, न अहिलेसम्म प्राविधिकहरूको प्रतिवेदन सार्वजनिक भएको छ, न काम नै अघि बढेको छ ।कमला नदी भएर दिनहुँ हजारौं सर्वसाधारण आउजाउ गर्छन् । तर, पुल नहुँदा सर्वसाधारणहरु कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
पुलको पुनर्निमाण सुरु नहुँदै गत कार्तिक ३ गते धनुषा तर्फको तेस्रो पाया पनि भासिएको छ । पुल कामै नलाग्ने अवस्थामा पुगेको छ । तर, पुल पुनर्निमाणको सन्दर्भमा हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतो भने अनुसन्धान भइरहेको र अहिले केहि भन्ने नसकिने बताउँछन् ।
सरकार र सम्बन्धित निकायको उदासीनता र ढिलासुस्तीले पुल पुनर्निमाणको ठेगान नहुँदा यस भेगका सर्वसाधारण चिन्तित बनेका छन् ।